
कांग्रेस नेता एवं नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैजुस्थित नौ आना सरकारी जग्गा मिचेका छन् । मनमैजु लोकतान्त्रिक चोकसँगै रहेको कित्ता नं. ६२ को २१.६२ वर्गमिटर र कित्ता नं. ६३ को २६३.६१ वर्गमिटर जग्गा (दुवैगरी नौ आना) मिचेर कम्पाउन्डसमेत लगाएका हुन् । कित्ता नं. ६२ त ३० साउन ०७६ मा मालपोत कार्यालय मनमैजुको निर्णयपछि केसीको नाममा नामसारी नै गरेको भेटिएको छ ।
स्थानीयहरूका अनुसार उक्त जग्गा भएको क्षेत्रमा अहिले प्रतिआना ८० लाखमा कारोबार चल्दै आएको छ । यो दररेटअनुसार केसीले मिचेको जग्गाको मूल्य सात करोड २० लाख पर्न आउँछ । विगतमा यो जग्गामा नेवार समुदायका काखे बालबालिकाको मृत्यु हुँदा दाहसंस्कार हुने गथ्र्यो । उक्त क्षेत्रमा ०३९ मै ५१ आना जग्गा खरिद गरेका डा. केसीले आडैमा रहेको सरकारी नौ आना पनि मिचेका थिए ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन डा. केसी कम्पाउन्ड लगाएको जग्गा सरकारकै रहेको बताउँछन् । ‘डा. सावले जहाँ कम्पाउन्ड लगाउनुभएको छ, त्यो जग्गा नेपाल सरकारकै हो । अहिले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउने कोसिस भइरहेको छ । यसमा कार्यमा डा. साव पनि सहमत हुनुहुन्छ । उहाँले वर्ष दिनअघि नै मिलाउनुहोस् भन्नुभएको हो । सोहीअनुसार काम अघि बढेको छ । वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण महर्जन यस काम लाग्नुभएको छ ।’
मालपोत कार्यालय मनमैजु च.नंं. ४१२, २४ साउन ०७६ को पत्रअनुसार मालपोत कार्यालय सट्टापट्टा समितिको १६ साउन ०७६ को निर्णयअनुसार कित्ता नं. ६२ को जग्गाधनी केदारनरसिंह केसी कायम गरिएको मालपोतको ढड्डामा उल्लेख छ । सोही कित्ता भएको क्षेत्रमा डा. केसीले ०३९ मा ५१ आना जग्गा खरिद गरेका थिए । जग्गा ढिस्कोको स्वरूपमा थियो । उनले उक्त ढिस्को खारे । त्यसपछि आफूले किनेको जग्गासँगै कित्ता नं. ६२ र ६३ को जग्गामा पनि कम्पाउन्ड लगाएका थिए । जग्गा मिचिएको विषयमा चर्चा भएपछि छानबिन गर्दा कम्पाउन्डभित्र भएको जग्गा लालपुर्जामा भन्दा धेरै देखिएको थियो । यो तथ्यलाई डा. केसीले पनि स्वीकार गरेका छन् । तर, अझै जग्गा छाडेका छैनन् ।
‘मैले ०३९ सालमा त्यो ठाउँमा ५१ आना जग्गा किनेको हुँ । त्यसवेला त्यहाँ ढिस्को थियो । मैले फाँडेँ (सम्याउनु) । जग्गाको क्षेत्रफल केही बढ्यो । ढिस्को फाँडेपछि जग्गा बढ्ने नै भयो । मैले त्यसवेलाका तालुकवाला निकायमा सोधेँ । उहाँहरूले पर्खाल लगाउँदा हुन्छ भन्नुभयो । मैले त्यही गरेँ,’ डा. केसी भन्छन्, ‘मलाई मेरो ५१ आना जग्गाबाहेक केही चाहिँदैन । जीवनको उत्तरार्धमा म लोभ गर्दिनँ । बढी देखिए म छाडिदिन्छु ।’
केसीले मिचेको जग्गा सरकारकै नाममा ल्याएर पार्क बनाउने योजनामा नगरपालिका छ । यसका लागि बजेट पनि वियोजन भइसकेको छ । तर, केसीले जग्गा छाड्न अटेर गर्दै आएका छन् । तारकेश्वर– ९ का वडाध्यक्ष श्यामकृष्ण महर्जन मिचिएको जग्गा फिर्ता नहुँदा छुट्याएर तारबारसम्म गर्न नसकिएको बताउँछन् । ‘डा. केसीले सरकारी जग्गा मिचेकोमा दुईमत नै रहेन । यस विषयमा उहाँसँग पटक–पटक छलफल गर्यौँ । छलफलमा त जग्गा छाडिदिन्छु नै भन्नुहुन्छ । तर, व्यवहारमा छाड्नुभएको छैन,’ उनले भने, ‘नगरपालिकाले उक्त क्षेत्रमा पार्क बनाउने योजना बनाएको छ । तारबारका लागि आठ लाख बजेट विनियोजनसमेत भइसकेको छ । तर, उहाँले छाड्न आलटाल गर्दा तारबारसमेत लगाउन सकिएको छैन ।’
५१ आनामध्ये ४८ आना आफ्नै नाममा राखेका केसीले तीन आना श्रीमतीको नाममा गराएका छन् । मालपोतले नगरपालिकालाई १६ साउन ०८१ मा च.नं. ३६२ को पत्रमा लेखेको छ, ‘काठमाडौं जिल्ला साबिक मनमैजु वडा नं. ९ सिट नं. १०२०९४४२३ कि.नं. ६२ क्षेत्रफल २१.६२ वर्गमिटर जग्गाधनी केदारनरसिंह केसीका नाममा र कि.नं. ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारको नाममा यस कार्यलयको मोठ स्रेस्तामा जनिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ तर, कित्ता नं. ६३ को जग्गा सरकारकै नाममा भएपनि केसीले नै कम्पाउण्ड लगाएर मिचेका छन् ।
संसद्मै उठेको छ प्रश्न
मिचिएको जग्गा फिर्ता गर्न स्थानीयले विगतदेखि नै दबाब दिँदै आएका थिए । तर, डा. केसीले जग्गा फिर्ता गर्नुको सट्टा ०७६ मा उल्टै आफ्नो नाममा नामसारी गर्न लगाएका थिए । यो विषय अब संसद्मा समेत उठेको छ ।
काठमाडौं क्षेत्र नं. ६ का सांसद शिशिर खनालले बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यो विषय उठाउँदै डा. केसीले शक्तिको आडमा सार्वजनिक जग्गा मिचेको बताए । ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको मचागाः (नेवार समुदायको चिहान) नेपाल सरकारको नाममा रहेको कित्ता नं. ६२ र ६३ को जग्गा कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयको गुनासो तथा उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । समस्या समाधान गर्न म सरकारसँग माग गर्दछु,’ खनालले भने ।