
धौलागिरि–गण्डकी यातायात सेवा प्रालि बाग्लुङले सञ्चालन गरेको विद्युतीय (इभी) माइक्रो बसको भाडादर समायोजन गरेको छ। प्रालिले बाग्लुङ–पोखरा विद्युतीय माइक्रो बस सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो।
यसअघि लिँदै आएको भाडामा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए। बाग्लुङ–पोखरा भाडा ४५० रुपैयाँ रहेकोमा चैत्र १ गतेदेखि ४०० रुपैयाँ लागू हुनेछ। त्यसैगरी, म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको अध्यक्ष केसीले बताए।
बाग्लुङ–पोखराका लागि गत वर्ष फागु पूर्णिमाकै दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो। सुरुवाती चरणमा दुईवटा बसबाट सेवा सञ्चालन गरेको बाग्लुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा आएका छन्। प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि ५ वटा बस सञ्चालन गरेको छ भने बाग्लुङ–नारायणगढका लागि पनि ५ वटा बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए।
विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो।