कास्की र पोखराको मुद्दामा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बिहीबार जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दायर हुने भएको छ । बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि उनलाई प्रतिवादी बनाउन लागिएको छ ।
पोखराको सूर्यदर्शन तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा उनी धरौटीमा छुटिसकेका छन्। बुधबार काठमाडौंमा उनी ६० लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।
रुपन्देहीमा लामिछाने लगायतविरुद्ध पूरक अभियोग दायर हुन लागेको हो। सो सहकारीको ठगीमा मूल अभियोग गत वर्ष नै दायर भइसकेको छ । मूल मुद्दामा लामिछाने प्रतिवादी थिएनन्।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले बिहीबार वा शुक्रबार सुप्रिम सहकारीको मुद्दामा अदालतमा दर्ता गरिने बताए । प्रहरीले रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ। सरकारले अत्याधिक दमन गरेको आरोप बढेपछि सरकारले उनलाई पक्राउ नगरी आफैं उपस्थित हुने सुविधा दिएको छ।