मेरो स्वर्णलक्ष्मी सहकारी संस्थामा एकल वा संयुक्त कुनै पनि खाता छैन । खाता खोल्न एकल वा संयुक्त रूपमा कहिल्यै निवेदन दिएको पनि छैन । मैले निवेदन दिएको, हस्ताक्षर गरेको, औँठाछाप गरेको वा कुनै किसिमको फारामसमेत भरेको छैन ।
म स्वर्णलक्ष्मी सहकारीको बचतकर्ता, सदस्य, ऋणी, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति पनि होइन । उसकै (जिबी) सहकारी, उसैको सफ्टवेयर, उसैका कर्मचारी, उसैको सिस्टम भएपछि सहकारी सञ्चालकहरूले जसको नाम राख्न पनि सक्ने होला ।
कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ भन्ने मेरो बुझाइ हो । तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फाराम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ ।
विभिन्न अनुसन्धान र प्रतिवेदनहरूले उल्लिखित सहकारीलगायत गितेन्द्रबाबु राई संलग्न रहेको सहकारी संस्थाहरूमा किर्ते गरी विधि प्रक्रिया नपुर्यार्ई सयौँ मानिसको नाममा नक्कली खाता खोली उनीहरूलाई नक्कली ऋणी बनाइएको भनी सार्वजनिक भएको सुनेको हुँ । तसर्थ, मेरा सन्दर्भमा पनि फर्जी खाता खोलिएको हो भन्ने कुरामा कुनै द्विविधा छैन । सहकारीसँग मेरो कुनै पनि किसिमको साइनो तथा कारोबार थिएन, छैन ।