प्रोफेसनल गल्फर नीरज तामाङ सूर्य नेपाल इस्टर्न ओपनको च्यम्पियन बनेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगितामा कुल स्कोरको रेकर्ड बराबरी गर्दै नीरज उपाधि जित्न सफल भए । नीरजले प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७ अन्डर १९३ को स्कोरसहित करिअरको दोस्रो उपाधि जितेका हुन् ।
प्रतियोगिताको अन्तिम दिन शुक्रबार ५ अन्डर ६५ को उत्कृष्ट स्कोरमा नीरजले विष्णुप्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे । उपाधिसँगै नीरजले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले यही प्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको ७ अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए । धरान गल्फ क्लबमा ७ अन्डर २०३ स्कोरसहित विष्णु दोस्रो भए । उनले शुक्रबार २ अन्डर ६८ को कार्ड बनाए । विष्णुले एक लाख रुपैयाँ आफ्नो नाममा गराए । धरानका बलभद्र राई ३ अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे । उनले आज १ ओभर ७१ स्कोर निकाले ।
सात स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको खेलको सुरुवात गरेका नीरजले खासै चुनौतीको सामना गर्नुपरेन । सानदार सुरुवात गरेका उनले फ्रन्ट नाइनमा ५ अन्डर ३१ खेले । पहिलोदेखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहार गरेका नीरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौँ र नवौँ होलमा पनि एक–एक सट जोगाए । नीरजले १०औँ होलमा डबल बोगी र ११औँ होलको बोगी खेपे । विष्णुले तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा पूरा गरे । ब्याक नाइनमा पनि चार बर्डी प्रहार गरे, तर दुई होलमा बोगी खेप्दै विष्णुले २ ओभर ३६ खेले ।
भुवन नगरकोटी र रवि खड्का २ अन्डर २०८ सहित चौथो स्थानमा रहे । अन्तिम दिन भुवनले ४ अन्डर ६६ र रविले २ अन्डर ६८ खेले । उनीहरूले जनही ५५ हजार प्राप्त गरे । समग्रमा १–अन्डर २०९ को नतिजामा धनबहादुर थापा र भुवनकुमार रोक्काले छैटौँ स्थानमा रहँदै जनही ४४ हजार रुपैयाँ हात पारे ।