मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १३ शनिबार o७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जनकपुरमा एनपिएल च्याम्पियनको विजयी उत्सव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार o७:o९:oo

गत शनिबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लिगको उपाधि जितेको थियो । क्यानले पहिलोपटक आयोजना गरेको टी–२० फ्रेन्चाइजको एनपिएलमा जनकपुरले च्याम्पियनशैलीमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै ट्रफी उचालेको थियो । एनपिएलको च्याम्पियन भएको एक सातापछि शुक्रबार जनकपुरमा च्याम्पियन बनेका खेलाडीको धूमधामका साथ नगर परिक्रमा गराइएको छ । यसलाई स्थानीय क्रिकेट समर्थकले विजयी जुलुसका रूपमा लिएका छन् । 

राष्ट्रिय क्रिकेट संघ धनुषाले विजयी जुलुस विशेष बनाउने क्रममा रजौलस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाबाट र्‍याली निकालेको थियो । रंगशालामा जनकपुरलाई विजेता बनाउने खेलाडीदेखि अफिसियललाई सम्मान गरिएको थियो । त्यसपछि ट्रफीसहित नगर परिक्रमा भयो । विजयी जुलुस थापाचोक हुँदै पिडारी, रामानन्द, बजरङ, भ्रमरपूरा, जिरो माइल, विश्वकर्मा, मुरली, रामचोक हुँदै जानकी मन्दिरमा पुगेर समापन भएको थियो । 

नगर परिक्रमामा खेलाडीसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी भएका थिए । मुख्यमन्त्री खेलाडीहरूको हौसला बढाउँदै आगामी दिन पनि यस्तै सफलताको कामना गरे । विजयी जुलुसमा खेलाडीसँगै जनकपुरधामका सयौँ खेलप्रेमीदेखि नगरिक समाजका व्यक्तिहरू पनि नगर परिक्रमामा सहभागी थिए । खेलाडीलाई चोक–चोकमा भव्य स्वागत गरिएको थियो । जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक नीरज खतिवडाले मधेश प्रदेशका आठवटै जिल्लामा विजय उत्सव मनाइने जानकारी दिए । 

उनका अनुसार शनिबार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी प्रदर्शन हुनेछ । त्यसैगरी, आइतबार बारा र पर्सामा ट्रफी प्रदर्शन गरिने कार्यक्रम रहेको छ । सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड रहेको खतिवडाले बताए । पहिलो संस्करणमा जनकपुरले विभिन्न विधासमेतमा बाजी मारेको थियो । जनकपुरकै ललितनारायण राजवंशी उत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान जनकपुरकै ओपनर लाहिरू मिलान्था तथा इनर्जेटिक खेलाडी जिमी निसम पनि यसै च्याम्पियन टोलीका हुन् ।