नेपाल प्रिमियर लिगको पहिलो संस्करण शनिबार सम्पन्न भएको छ। फाइनल खेलमा सुदुरपश्चिम रोयल्स्लाई हराउँदै जनकपुर बोल्ट्स एनपिएलको पहिलो च्याम्पियन बनेको छ।
फाइनल खेलेका दुई टिमका खेलाडीहरूले नाममा व्यक्तिगत रेकर्ड पनि बनेको छ ।
सर्वाधिक विकेट लिने खेलाडीमा जनकपुरका ललित राजबंशी र सुदुरपश्चिममा स्कट कुलेग्जिन बनेका छन्। उनीहरुले प्रतियोगितामा समान १७ विकेट लिए। फाइनलअघि दुवैको नाममा समान १६ विकेट रहेकोमा फाइनलमा १/१ विकेट लिएका हुन्।
उता सर्वाधिक रनको रेकर्ड पनि फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकपुरका लाहिरु मिलान्थाको नाममा छ।
फाइनल खेलमा सुदुरपश्चिम रोयल्स् विरुद्ध ८७ रन बनाएसँगै उनी सर्वाीधक रन बनाउने खेलाडी बनेका हुन् । १० इनिङमा उनले २९३ रन बनाए। लाहिरु श्रीलंकन मुलका अमेरिकी खेलाडी हुन्। एनपिएलमा सर्वाधिक चौका हान्ने खेलाडी पनि उनी नै बनेका छन्। उनले प्रतियोगितामा ३५ चौका प्रहार गरेका थिए।
एनपिएलको पहिलो उपाधि जितेको जनकपुरको हरेक खेलमा उनले महत्वपूर्ण योगदान दिएका थिए।
सर्वाधिक रन बनाउनेमा यसअघि चितवन राइनोजका रवि भोपाराको अग्रस्थानमा थिए । उनले ८ इनिङमा २८६ रन बनाएका थिए। तेस्रो स्थानमा रहेका रोहित पौडेलले ७ इनिङमा २७९ रन बनाएका छन्।