बुटवलस्थित कालिका मानवज्ञान माविको ६४औँ वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण गरेको छ। वार्षिक उत्सव मनाउने क्रममा पाँचौँ दिन शनिबार कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरमा छात्रवृत्ति वितरण तथा सम्मान गरिएको हो।
सो क्रममा दुई सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विभिन्न दाताले स्थापना गरेको एक करोड ३० लाखबराबरको अक्षय कोषको रकमबाट ६२ प्रकारका छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रमलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कालिकाबाट धेरै कुरा सिक्नुपर्ने बताए। उनले इमानदारपूर्वक काम गरे असम्भव केही नभएको बताए। अनुशासन मानिसको सबैभन्दा ठुला गुण भएको भन्दै कर्तव्यबोधको साथ इमानको पालना गर्नुपर्ने उनले बताए। कालिकामा ३५२ जना शिक्षकमध्ये ६८ जना मात्रै सरकारी दरबन्दीका छन्।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख तथा विद्यालयका प्रमुख सल्लाहकार घनश्याम पाठकले आफ्नो कार्याकालमा कालिका विकासको प्रस्ताव पेस गरिएको स्मरण गर्दै सोही वेलादेखि सुरुवात भएको अभियानले सार्थकता पाएको बताए।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पैसाको कारणले कुनै पनि विद्यार्थी फिर्ता पठाउनु नपरोस् भन्ने धारणा साथै दाताहरूको सहयोगमा कालिकामा विपन्न विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गरिएको र पूर्ण रूपमा सदुपयोग भैरहेको बताए।
कालिका मानवज्ञान माविमा स्थापना भएका ६२ प्रकारका छात्रवृत्ति गरिबी तथा जेहेनदार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक तथा पत्रकारलाई समेत सम्मान गरिएको थियो।