मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार १२:४५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यापार छाडेर टमाटरखेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १२:४५:oo

सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका किसानले अन्य तरकारीसँगै टमाटरखेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका– ४, गणेशचोकका ५९ वर्षका कामिल मिकरानी । टमाटरखेतीबाट बर्सेनि पाँच लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन् ।

कक्षा आठसम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटरखेती गर्नकै लागि व्यापार छाडेको बताए । ‘सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिएँ,’ उनले भने, ‘धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।’

मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन् । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए । कात्तिकमा रोपेको टमाटर पुस अन्तिमतिर टिप्न मिल्ने हुन्छ । ‘पहिला अरूको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिएँ,’ उनले भने, ‘उमेर ढल्कियो, छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले दुई बिघा लगाएको छु । ६ महिनामा पाँच लाखको टमाटर आरामले बेच्छु ।’

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउँछन् । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ । ‘किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो,’  मिकरानीले भने, ‘मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।’

उनले प्रतिक्यारेट तीन सयदेखि एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आएका छन् । टमाटर एक वर्षमा ६ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ ।

‘पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ,’ मिकरानीले भने, ‘कहिले व्यापारी खेतमै आउँछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।’ टमाटरखेतीबाटै थोरै खेतीसमेत जोडेको उनले सुनाए ।

लालबन्दी नगरपालिका– १, नवलपुरका दिनेश बैठाले पनि टमाटरखेतीबाट मनग्य आम्दानी गरेको बताए । अहिले टमाटर एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ । खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभएर मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले बताए ।

तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आएका बैठाले टमाटरखेतीबाट घरमै परिवारसँग बसेर चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए । उनले आफ्नो एक बिघा र हुन्डामा लिएको १० कट्ठा खेतमा कविता जातको टमाटर लगाएका छन् ।

उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने किसान मारमा परेको उनीहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मंगलबार लालबन्दीस्थित कृषि थोकबजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन् । ‘आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्रिहाल्छ,’ उनले भनिन् ।

सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए ।