Skip This
नेपाल, भारत र बंगलादेशबिच विद्युत् व्यापार सम्झौताको स्वागत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o८:३४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल, भारत र बंगलादेशबिच विद्युत् व्यापार सम्झौताको स्वागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o८:३४:oo

नेपाल, भारत र बंगलादेशबिच विद्युत् व्यापारको लागि भारतको ग्रिडमार्फत नेपाल र बंगलादेशबिचको विद्यत् व्यापारलाई सहज बनाउने त्रिपक्षीय सम्झौताको नेपाल-भारत उद्योग वाणिज्य संघले  स्वागत गरेको छ ।

नेपाल जलविद्युत, कृषि र पर्यटनको लागि प्रचुर सम्भावना भएको मलुक भएको हुँदा नेपालको आर्थिक उत्थानको लागि यी ३ क्षेत्रहरुलाई मध्य नजर राखि विशेष रुपमा अगाडि बढाउनुपर्नेमा संघले जोड दिएको छ । 

'संघले विगत पाँच वर्षदेखि भारतका साथै भारतीय प्रसारण संरचनामार्फत बंगलादेश तथा अन्य मुलुकहरुमा पनि विद्युत् व्यापार हुने वातावरण हुनुपर्छ भन्ने विषयवस्तुलाई प्रमुख एजेन्डामा राखि पहल गर्दै आएको छ' संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, 'यसै सन्दर्भमा सन् २०२३ को शुरुमा नेपाल र भारतबिच विद्युत् व्यापारको लागि १० बर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको लागि सम्झौता भई निकासी पनि शुरु भईसकेको छ । क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक विविधीकरण गर्ने सिलसिलामा २०८१ असोज १७ गते काठमाडौंमा हस्ताक्षर गरिएको नेपाल, भारत र बंगलादेशबिचको त्रिपक्षीय सम्झौता दक्षिण एसियामा दिगो हरित ऊर्जा प्रवर्द्धनको साझा लक्ष्यमा क्षेत्रीय सहकार्य र सीमा पार ऊर्जा सहयोगको लागि अर्को कोशेढुंगाको लागि एक ऐतिहासिक दिन सावित हुनेछ भन्ने कुरामा संघ विश्वस्त छ ।'

नेपालका ऊर्जा मन्त्री दीपक खड्का, ऊर्जा राज्य मन्त्री पूर्ण बहादुर तामाङ, बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन र जल स्रोत मन्त्री सैयदा रिजवाना हसन तथा भारतका राजदूत नविन श्रीवास्तवको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजाउल करिम, र भारतको विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङद्वारा सम्झौतामा हस्ताक्षर भएको थियो ।  

सम्झौताले नेपालबाट बंगलादेशलाई भारतको प्रसारण संरचना प्रयोग गरी ४० मेगावाट जलविद्युत् निर्यात गर्न मद्दत पु‍र्‍याउँदै पहिलो पटक नेपालले तेस्रो देशलाई परिवर्त्य विदेशी मुद्रामा बिजुली निर्यात गर्ने आधार तयार गरेको छ ।  सीमा पार विद्युत् व्यापारको महत्वलाई थप उजागर गर्दै, क्षेत्रीय ऊर्जा सुरक्षालाई प्रोत्साहन गर्दै वातावरणीय दिगोपनमा योगदान पु‍र्‍याउने यो विद्युत् व्यापार सम्झौताले नेपाललाई भविष्यमा नविकरणीय उर्जा केन्द्रको रुपमा उदाउँदै मनग्य आम्दानीको बाटो खोलेको संघको ठहर छ । अर्कोतर्फ स्वच्छ ऊर्जा स्रोतहरूको सख्त आवश्यकता रहेको बंगलादेशलाई महत्वपूर्ण नवीकरणीय ऊर्जा उपलब्ध गराउने अवसर सिर्जना भएको संघको ठहर छ।

'तीन देशबिचको यो सहकार्यले वर्तमान अर्थतन्त्र मात्र होइन, भविष्यका सन्ततिहरूलाई पनि जलवायु परिवर्तनका असरबाट जोगाउन स्वच्छ, नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगमार्फत लाभान्वित गर्नुका साथै यसबाट यस क्षेत्रमा थप एकीकृत ऊर्जा समाधानको मार्ग प्रशस्त गरेको छ जसले नेपाल लगायत अन्य छिमेकी मुलुकहरुबाट थप लगानी भित्र्याउनमा सरकारी तथा नीजि लगानीकर्ताहरुमा थप विश्वासको वातावरण सृजना भएको छ भन्ने कुरामा यस संघ विश्वस्त रहेको छ' संघ अध्यक्ष केसीले भनेका छन् ।

सम्झौताले वातावरणमा नकारात्मक असर पार्दै आएको परम्परागत इन्धनको निर्भरता घटाउन मद्दत पुर्‍याउने छ । क्षेत्रीय रुपमै ऊर्जा माग बढ्दै गइरहेको अवस्थामा यस उपलव्धीलाई अझ व्यापक बनाउँदै यो क्षेत्रीय हरित विद्युत् व्यापारलाई यस क्षेत्रको हरित भविष्यको सुरक्षाका लागि एक महत्वपूर्ण कार्यको रुपमा लिएर भारत र बंगलादेशका सरकारी निकायहरुले नेपालमा जलविद्युत् उत्पादत तथा प्रशारणका क्षेत्रमा गरिरहेको लगानीलाई अझ व्यापक बनाउन संघले आग्रह गरेको छ । तीनै देशका लगानीकर्ताहरुले सरकारी नीजि साझेदारीको अवधारणामा अगाडि बढ्न आजको आवश्यकता रहेको संघले जनाएको छ ।