Skip This
चीनसँग सम्बन्धविच्छेद गर्न कठिन छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
पिटर कोय
२o८१ असोज २० आइतबार o९:३७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनसँग सम्बन्धविच्छेद गर्न कठिन छ

Read Time : > 3 मिनेट
पिटर कोय
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o९:३७:oo

एप्पललाई चीनबाट बाहिरिन एक दशक लाग्नेछ । यो उपकरण निर्माणको मात्र होइन, पार्टपुर्जाको विशाल इकोसिस्टमको पनि प्रश्न हो ।

चीनबाट किन्ने वा बिक्री गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनीका लागि यो सहज समय होइन । अमेरिका र चीनका सरकार भिडेर कम्पनीहरूलाई एउटा पक्ष रोज्न बाध्य बनाउँदै छन् । फोर्डलाई नै हेरौँ । गत जनवरीमा अमेरिकाका दुई संसदीय समितिका अध्यक्षले बाइडेन प्रशासनलाई मिसिगनस्थित फोर्डको ब्याट्री फ्याक्ट्रीसँग जोडिएका चार चिनियाँ कम्पनीमाथि छानबिन गर्न अह्राए । ती कम्पनीको साइनो चिनियाँ सेना, चीनको कम्युनिस्ट पार्टी, उत्तर कोरियाली सरकार र सिन्जियाङ क्षेत्रको मानव अधिकार उल्लंघनसँग रहेको उनीहरूको दाबी छ । अथवा एप्पल नै हेरौँ । ‘वर्षाैंदेखि एप्पल पत्रपत्रिका, भिपिएन तथा इन्क्रिप्टेड प्यासेजिङ सेवालगायत एपलाई ‘बल्क’ गर्नुपर्ने बेइजिङको मागसामु झुक्दै आएको छ । साथै, एप्पलले चिनियाँ नागरिकका व्यक्तिगत सम्पर्क, फोटो र इमेललगायत ‘आइक्लाउड’सम्बन्धी जानकारी भण्डार गर्न चीनमा एउटा डाटा सेन्टर नै निर्माण गरेको छ,’ टाइम्स समाचारमा लेख्छ । 

कुनै समय चीनसँगको व्यापारलाई प्रमुख अवसरका रूपमा हेर्ने यी दुवै कम्पनी बारम्बार स्पष्टीकरण दिन बाध्य छन् । उदाहरणका लागि, फोर्डले आफूले आफ्ना ‘व्यवसायमा’ अमेरिकी सरकारका नियमहरू पालना गरिरहेको बताउँछ । ‘एप्पलजस्तो कम्पनी अमेरिकाबाट मात्र आउन सक्छ भन्ने मलाई थाहा छ र हामी हाम्रो महान् देशको नियम मान्न सधैँ प्रतिबद्ध छौँ,’ एप्पलका सिइओ टिम कुकले सन् २०२२ मा कम्पनीको अमेरिकीपनबारे कुरा गर्दै भनेका थिए । 

चीनसँगको सम्बन्धमा केन्द्रित बिजनेस इन्टेलिजेन्स कम्पनी ‘स्ट्रेटेजी रिस्क्स’ले सार्वजनिक गरेको सूचीमा अमेरिकाका २५० ठूला सूचीकृत फर्ममध्ये चीनमा एक्सपोजरको वरीयतामा फोर्ड पहिलो र एप्पल तेस्रो स्थानमा छ । (सूचीको दोस्रो स्थानमा क्यारियर ग्लोबल छ, जुन हिटिंग, भेन्टिलेसन तथा एअरकन्डिसनिङ कम्पनी हो ।) अमेरिकी सिइओहरूलाई चिनियाँ फ्रेनेमिज (साझेदारको रूपमा मित्र र प्रतिस्पर्धीको रूपमा शत्रु दुवै हुन सक्ने कम्पनीहरू)सँग तपाईंहरू कत्तिको नजिक हुनुहुन्छ भन्ने प्रश्नले सधँै अत्याउने गर्छ । चिनियाँ बजार आकर्षक छ । तर, यहाँ प्रविष्ट अमेरिकी कम्पनीले चिनियाँहरूलाई बहुमूल्य बौद्धिक सम्पत्ति सुम्पिएका छन्– कहिले स्वेच्छाले त कहिले अनिच्छापूर्वक । चिनियाँ कम्पनीले प्रविधिमा अमेरिकी कम्पनीलाई उछिनेका छन् र केही अवस्थामा बराबरीमा आएका छन् । यस्तोमा अमेरिकी कम्पनीका लागि एउटा नयाँ प्रश्न खडा भएको छ– ठुलो मूल्य चुकाएर अग्रस्थानमा फर्कन प्रयास गर्ने वा बजार चिनियाँहरूलाई सुम्पने र उनीहरूको ग्राहक बन्नेख ?

फोर्डका कार्यकारी जिम फार्ले यही द्विविधामा छन् । ‘फार्ले चिनियाँ कम्पनीहरूले इभीमा गरेको प्रगति देखेर चकित हुँदै मेमा चीन भ्रमणबाट फर्के । र, उनले फोर्डका एक सञ्चालकलाई ‘यो अस्तित्वकै खतरा भएको’ बताए,’ वाल स्ट्रिट जर्नलले यसै महिना लेखेको थियो । फोर्डले सन् २०२४ मा इभीको सञ्चालनमा करिब पाँच अर्ब अमेरिकी डलर घाटा हुने अनुमान गरेको छ । चिनियाँ इभीको अमेरिकी बजारमा प्रवेश रोक्न लगाइएको उच्च महसुलका बाबजुद पनि ऊ घाटामा छ । फोर्डले इभी सेगमेन्टका स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी) नल्याउने र ठुला इलेक्ट्रिक पिकअप ट्रकको रोलआउटलाई पनि लगभग १८ महिना ढिला गरी सन् २०२७ मा पु¥याउने घोषणा गरिसकेको छ । 

फार्ले चीनको सन्दर्भमा मध्यमार्गी मार्ग अपनाउँदै छन् । एकातिर फोर्डले मिसिगनमा ब्याट्री बनाउन अमेरिकी सरकारबाट अनुदान लिइरहेको छ । तर, इजाजत प्रविधिचाहिँ इभी ब्याट्रीमा विश्वकै सबभन्दा ठुलो निर्माता अर्थात् चिनियाँ कम्पनी सिएटिएलको प्रयोग गर्छ । चिनियाँ प्रविधिको यो हदको स्वीकारोक्ति ‘स्वदेशमै म्यानुफ्याक्चरिङ’प्रतिको प्रतिबद्धतासँग विरोधभाषपूर्ण लाग्छ । 

चिनियाँ प्रतिस्पर्धालाई कायम राख्ने फार्लेको पछिल्लो रणनीतिअनुरूप लस एन्जलसमा इभी डिजाइन गर्न एक नयाँ फ्यासिलिटी स्थापना हुँदै छ, जुन पूर्ण रूपमा नवीन हुनेछ र यिनै ब्याट्रीवरपर निर्माण हुनेछ । 

वाल स्ट्रिटका केही विश्लेषकमा आशंका छ– यो रणनीतिले काम गर्न वा नगर्न पनि सक्छ । ‘आफ्नो सबलतामा ध्यान दिनुहोस् । फोर्ड, जनरल मोटर्स र स्टेलान्टिस (क्रिसलरको माउ कम्पनी)ले स्वचालित इभीहरूमा लगानी गर्दै उत्तर अमेरिकामा पेट्रोल–सञ्चालित ट्रकहरू बेच्नमा ध्यान केन्द्रित गर्नुपर्छ, जुन उनीहरूका लागि अत्यधिक लाभदायक रहन्छ,’ बैंक अफ अमेरिकाका विश्लेषक जोन मर्फीले गत जुनको एक भाषणमा भनेका थिए । 

चीनमा अझै पनि व्यापक रूपमा मनपराइने एप्पलले स्मार्टफोनको बजार हिस्सा गुमाइरहेको छ । साथै, राजनीतिक अवरोधको पनि सामना गरिरहेको छ । सरकारी निकाय तथा राज्य प्रवर्तित फर्मका कर्मचारीलाई चीनले आइफोन तथा अन्य विदेशी उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ । एप्पलले पार्टपुर्जाका लागि चिनियाँ स्रोतमा निर्भरता कम गर्ने प्रयास गरे पनि खासै प्रगति गर्न सकेको छैन । निक्केई एसियाले सन् २०२३ मा एप्पलको चिनियाँ आपूर्ति वा चीन उत्पादित पार्टपुर्जाको प्रयोग बढेको तर ताइबान, अमेरिका, जापान र दक्षिण कोरियाका आपूर्तिकर्ताको प्रयोग घटेको समाचार लेखेको छ । एप्पलले अप्रिलमा नै सांघाईमा अनुसन्धान केन्द्र विस्तार गर्ने र सेन्जेनमा नयाँ ल्याब खोल्ने घोषणा गरिसकेको छ ।

‘चीनमाथिको अत्यधिक निर्भरतामा सबैलाई द्विविधा छ । तर, उनीहरूलाई यहाँबाट पछि हटियो भने अप्रतिस्पर्धी भइने चिन्ता पनि छ,’ सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ उपाध्यक्ष जेम्स एन्ड्रियू लेविसले भने । ‘चाहे पनि एप्पललाई चीनबाट बाहिरिन एक दशक लाग्नेछ । यो उपकरणहरू निर्माण मात्र सवाल होइन । पार्टपुर्जाहरूको एउटा विशाल इकोसिस्टमको पनि कुरा हो,’ अनुसन्धाता जेफ फिल्डह्याक भन्छन् । एप्पलका प्रवक्ताले चीनमा कम्पनीको एक्सपोजरबारे कुरा गर्न चाहेनन् । एप्पल आफ्ना सबै उत्पादनको डिजाइन क्यालिफोर्नियामा हुने र अमेरिकामा ९० हजारभन्दा बढी कर्मचारी रहेकोमा ताइबानसहित ‘ग्रेटर चाइना’मा केवल १६ हजार कर्मचारी रहेको बताउँछ । यदि चीन र अमेरिकाबिच तनाव बढ्दै गयो भने यी दुई बजारमा खुट्टा हालेका कम्पनीमाथि दबाब अझ बढ्नेछ । उनीहरूका लागि यहाँबाट निस्कने कुनै सजिलो उपाय छैन ।

(कोय न्युयोर्क टाइम्सका स्तम्भकार हुन्) न्युयोर्क टाइम्स