
सन् १९६० को दशकसम्म स्विडेनका मानिस बायाँतर्फबाट सवारीसाधन चलाउँथे तर ३ सेप्टेम्बर १९६७ मा सडक नियम परिवर्तित भयो । यसयता यहाँ दायाँतर्फबाट सवारीसाधन चलाउन थालियो । त्यसवेला सवारीचालकको एक सानो हिस्साले मात्र विद्रोह गरेको वा अहिलेसम्म विद्रोह गरिरहेका भए ‘स्विडेन’ अराजकता र मृत्युको पर्याय बन्थ्यो । तर, अहिले ‘स्विडेन’लाई ‘सुरक्षा’को पर्याय मान्न सकिन्छ । स्विडेनमा युरोपियन युनियनभरिमै सवारीसाधन दुर्घटनाका कारण हुने मृत्युसंख्या सबैभन्दा कम छ ।
परिवर्तनमा सहज संक्रमणको श्रेय धेरै हदसम्म संलग्न सबैबीच मौजुद व्यापक विश्वास हो । त्यसवेला जनताबीचको विश्वास र सहकार्यमा असफलता भन्ने थिएन । यस्तै परिवर्तन नाइजेरियामा सन् १९७२ मा र समोआमा सन् २००९ मा सफलतापूर्वक सम्पन्न भएका थिए । सडक प्रयोग जताबाट गरे पनि विश्वभर मानिसले सामान्यतया सडक नियम र अन्य सहचालकप्रति विश्वास गरेर सवारीसाधन चलाउँछन् ।
सडक नियममा जब विश्वास घट्छ, तब थप दुर्घटना निम्तिन्छ । त्यसैगरी खोप एवं रोग निवारक स्वास्थ्य सेवामा विश्वास घट्दा थप रोग निम्तिन्छ । यस्तो अविश्वास धेरै ठाउँमा देखिन्छ । विज्ञान, खोप र स्वास्थ्य अधिकारीमाथिको विश्वास घट्दै जाँदा रोकथाम गर्न सकिने संक्रमण बढिरहेका छन् ।
विज्ञान, खोप र स्वास्थ्य अधिकारीमाथिको विश्वास घट्दै गएकाले रोकथाम गर्न सकिने संक्रमण बढिरहेका छन्
गत महिना हाम्रो संस्थाले दादुरा प्रकोपलाई सम्बोधन गर्न रेडक्रस सोसाइटी अफ बोस्निया र हर्जगोभिनालाई सहयोग गर्न रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ डिजास्टर रेस्पोन्स इमर्जेन्सी फन्ड (आइएफआरसी–डिआरइएफ) को उपयोग गरेको थियो । यो कोष सामान्यतया राष्ट्रिय रेडक्रस वा रेड क्रिसेन्ट सोसाइटीलाई प्राकृतिक प्रकोप वा जनसांख्यिकीय परिवर्तनपछि मद्दत गर्न प्रयोग गरिन्छ । तर, यसपटक बोस्नियामा न्यून खोपदर (६० प्रतिशत) भएकाले दादुरा प्रकोपका लागि सहयोग आवश्यक थियो । जनवरीदेखि, करिब खोप नलगाएका तीन हजार मामिला सतहमा आएका छन्, जसमा अधिकांश नौ वर्षमुनिका बालबालिका छन् । बोस्निया एन्ड हर्जेगोभिनाको रेड क्रस सोसाइटीले खोपको महत्वबारे प्रभावित क्षेत्रमा मानिसलाई शिक्षित बनाउन र खोपका लागि तयार बनाउन मोबाइल सूचना एकाइलाई रकम छुट्याउने योजना बनाएको छ ।
दादुरा खोप प्रतिक्रियाको नेतृत्व गर्ने रेडक्रसका सहकर्मीले भय र मिथ्या सूचनाले विशेषतः वयस्क आमाबाबु खोपप्रति अनिच्छुक रहेको तथ्य स्विकार्छन् । यसलाई सम्बोधन गर्न बोस्निया एन्ड हर्जगोभिनाको रेडक्रसले सामुदायिक संलग्नता एवं विश्वास निर्माणलाई प्राथमिकता दिनेछ ।
यसो उसो गर्नुपर्छ भनेर व्याख्यान दिनुको सट्टा रेडक्रसले सक्रिय रूपमा समुदायको राय सुन्नेछ र खोप स्वीकृति प्रवद्र्धन गर्न रणनीति निर्माणमा सघाउनेछ । समुदायमा विश्वास निर्माण गर्न र त्यसलाई कायम राख्न समय लाग्छ, तर यो आवश्यक छ, किनभने समुदायले महामारी रोक्न र नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन् । समुदायका लागि सुरुदेखि र प्रक्रियाभरि मिलेर समाधान निर्माणमा संलग्न हुन आवश्यक छ ।
किर्गिजस्तानमा पनि दादुराको प्रकोप देखा परेको छ जहाँ रेड क्रिसेन्ट सोसाइटीले एक लाख २० हजार मानिसमाझ पुग्ने लक्ष्य राखेर मिथ्या सूचना र खोपविरोधी धारणाविरुद्ध सक्रिय रूपमा लडिरहेको छ । यसबाहेक अन्य राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले फिलिपिन्स, अफगानिस्तान, पाकिस्तान, बुर्किनाफासो, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र गिनीलगायत धेरै देशमा खोप अभियानलाई समर्थन गरिरहेका छन् । दादुराका मामिला विश्वव्यापी रूपमा बढ्दै गएका छन् ।
गत वर्षको तुलनामा ४१ युरोपेली देशमा ४० गुणाले वृद्धि भएको छ, विश्व स्वास्थ्य संगठनले यसलाई ‘डरलाग्दो वृद्धि’को संज्ञा दिएको छ । त्यसैगरी अमेरिकाले केही ठाउँमा दादुरा प्रकोपको अनुभव गरिरहेको छ र त्यहाँ केही वर्षयताकै सबैभन्दा बढी दादुरा मामिला सतहमा आइरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२२ र २०२३ बीच दादुराका मामिला झन्डै दोब्बर भएको थियो र सन् २०२४ लाई हेर्दा मामिला थप वृद्धि हुने देखिन्छ । अधिकांश प्रभावित खोप प्रयासको एक कारक अविश्वास हो । आपूर्ति शृंखला अवरोधले खोपको अभाव निम्त्याउँछ, जबकि कम कर्मचारी भएका स्वास्थ्य संस्थाले खोप व्यवस्थापन गर्न संघर्ष गर्छन् । पहुँचको समस्याले केही व्यक्तिलाई चिकित्सा आपूर्ति वा खोपकेन्द्रमा पुग्नबाट रोक्छ । उपलब्धताको बाबजुद धेरैले अझै पनि खोप नलगाउने निर्णय गर्छन् ।
खोप र बृहत् रोग निवारक स्वास्थ्य सेवा उपायप्रतिको हिचकिचाहट आंशिक रूपमा स्वास्थ्य सेवा पेसेवरमाथिको अविश्वासबाट उत्पन्न हुन्छ, जसलाई कोभिड–१९ महामारीको समयमा वृद्धि भएको मिथ्या सूचनाले थप बढाएको छ । मैले यस वर्षको सुरुमा पूर्वी अफ्रिकामा हैजाको प्रकोपलाई प्रत्यक्ष रूपमा देखेको थिएँ । जति प्रारम्भिक निदान र सरसफाइ महŒवपूर्ण छ, त्यति नै विश्वासको पुनर्निर्माण पनि महत्वपूर्ण छ । जाम्बिया र कोमोरोसमा हैजाका बिरामीका छिमेकीले आफ्नो घरलाई कीटाणुरहित गर्ने आवश्यकतामा विश्वास गर्दैनन् । आइएफआरसी–डिआरइएफ अनुदान यस वर्ष चार हैजा प्रभावित देशका लागि छुट्याइएको छ र जिम्बावेमा यस मामिलामा ठूलो आपत्कालीन अपिल गरिएको छ । विश्वास पुनर्निर्माण गर्न सहयोगी प्रयास आइएफआरसी–डिआरइएफ कोषको उद्देश्यको केन्द्रमा छन् ।
सन् १९६० को दशकमा ‘मिथ्या र दुराशययुक्त सूचना’को अवधारणा थिएनन् र अफवाह छिटो फैलाउन टिकटक वा ह्वाट्सएपजस्ता प्लेटफर्म थिएनन् । आज केवल समस्याको समाधान प्रस्ताव अपर्याप्त छ । हामीले समुदायलाई सक्रिय रूपमा सामेल गर्नुपर्छ र त्यसमा विश्वास निर्माण गर्न समुदायसँग सहकार्य गर्नुपर्छ । यो दृष्टिकोण रेडक्रस र रेड क्रिसेन्ट सञ्जालको मुख्य उद्देश्य हो ।
(चापागाईं इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिजका महासचिव हुन्) अल जजिराबाट