नमुना मतदान : चार सय ७६ मध्ये ९८ मत बदर

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

 जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । आठवटै स्थानीय तहमा खसेको चार सय ७६ मध्ये ९८ मत बदर भएको छ । 

चन्दननाथ नगरपालिकामा खसेको एक सय चारमध्ये ९१ सदर र १३ मत बदर भएको छ । सिँजा गाउँपालिकामा ३७ मतमध्ये २८ सदर र आठ मत बदर भएको छ । कनकासुन्दरीमा ४८ मध्ये सदर ३६ र १२ मत बदर भएको छ ।

पातारासीमा खसेको ३८ मतमध्ये सदर २४ र बदर १४ मत, हिमा गाउँपालिकामा ४२ मतमध्ये सदर ३० मत र १२ मत बदर भएको छ । तातोपानीमा खसेको ५९ मतमध्ये ५० मत सदर र नौ मत बदर, तिलामा खसेको ७२ मतमध्ये ५४ मत सदर र १८ मत बदर, गुठीचौरमा खसेको ७२ मतमध्ये ६० सदर, १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

बदर मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंले बताए ।’

सुझावित समाचार