कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन्।
उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको सुझावअनुसार आफ्नो उम्मेदवारी स्थगित गरेर वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घबहादुर सोडारीलाई समर्थन गरेको जनाएका छन्।
प्रतिगमनविरुद्ध देशैभरि वाम-लोकतान्त्रिक गठबन्धन भएकोले गठबन्धनलाई सफल बनाउन उम्मेदवारी फिर्ता लिएको सापकोटाले बताए। क्षेत्र नम्बर ४ मा संघतर्फ आफूले वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरलाई समर्थन गरेको पनि उनले उल्लेख गरेका छन्।
सापकोटा नेकपा माओवादी केन्द्रको गौरीगंगा नगर कमिटीका उपाध्यक्ष थिए। गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उनलाई माओवादीले यसअघि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।