कृषकलाई धान भित्र्याउने चटारो, नेतालाई भोट

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

ठूलो चौरासी फाँटमा धान स्याहार्ने चटारोमा किसान । उनीहरूलाई निर्वाचनको कुनै मतलब छैन । भोट माग्ने नेताका गाडीहरू दैनिक मदन भण्डारी राजमार्गबाट कुद्छन् । किसानलाई नेताको सानभन्दा आफ्नै धान प्यारो छ । सडकछेउमा धान हम्किँदै गरेका इस्मा गाउँपालिका– ६ का ५३ वर्षीय बालु गिरीले परिवर्तनका लागि धेरैैपटक भोट हाले । तर, सोचेअनुसारको परिवर्तन आएन । ‘काममा खेताला खोजेर भाषण सुन्न गइँदैन । पानी परेर धान भिज्ने वेला हुन्छ,’ उनले भने,‘कसैको आस छैन जेनतेन भोट हाल्न जाने हो ।’ 

उनको २५ मुरी फल्ने खेत छ । सिजनअनुसार धान, मकै र आलु उत्पादन गर्छन् । सोही गाउँका ६० वर्षीय चुरा गिरी पनि एक महिनादेखि धानको काममा व्यस्त छन् । गिरीले अहिले २४–२५ मुरी धान भित्र्याए । बाहिर धानको काम गरे ६ सय पाक्छ । मालिका– ६ की देवकला पराजुलीलाई पनि धान भित्र्याउन भ्याइनभ्याइ छ । काम गरे चामल किनेर खानुपर्दैन । 

दिनभर मेलामा हुने भएकाले घरमा आउने नेताको कुनै मतलव छैन । ‘नेता भोटका लागि नोट बाँड्दै हिँडेका छन् । काम गरेर खानेहरूलाई सधैँ चोट मात्रै हो,’ उनले भनिन्, ‘काम छाडेर नेताको पछि हिँडिदैन ।’ 

अहिले नेताहरू कृषकको घर र बारीमा गएर मत मागिरहेका छन् । धेरै कृषक तिहारपछि कामकै लागि खेत र बारीमा व्यस्त भएकाले कहीँकतै खेतबारीमा मत माग्ने अवस्था रहेको गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का गठबन्धनका उम्मेदवार बुद्धि जिसीले बताए । नेताले मत माग्दा किसानले रोजगारीका अवसर, जंगली जनावरले सास्ती खेपेको गुनासा पोख्छन् । 

नेतालाई भोट, किसानलाई  मल र बिउको चिन्ता
इस्मा गाउँपालिका– ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरेले नेतालाई भोटजस्तै किसानलाई पनि मल, बिउ र बजारको चिन्ता रहेको बताए । उनले मंसिरमा दुई सय मुरी धान भित्र्याउँछन् । तिहारपछि घिमिरेलाई धानकै कामले फुर्सद छैन । उनले धान र चामल नै बिक्री गर्छन् । धान एक पाथीको एक सय २० देखि एक सय ८० र चामल मोटा साढे चार सय पाथी तथा मसिना पाँच सय रुपैयाँ पाथीमा बिक्री भइरहेका छन् । धान समयमै बिक्री हुँदैन । समयमै बिउ, मल र उत्पादनले बजार नहुँदा मूल्य पनि नभएको घिमिरेले गुनासो गरे । ‘नेता र चुनावतिर कृषकको चाख खासै छैन । बिउ, मल, मूल्य र बजारको सास्ती कहिल्यै फेरिएन,’ उनले भने, ‘चुनावी नाराले आश्वस्त हुने दिन गए ।’

१.४ प्रतिशतले धान उत्पादन घट्दै
गत वर्षभन्दा १.४ प्रतिशत धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । गत वर्ष २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले २३ हजार सात सय १८ मेट्रिकटन धान उत्पादन हुने केन्द्रले जनाएको छ । धान फूल खेल्ने र पाक्ने वेलामा पानी परेकाले पोकटा हुँदा कम उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । 

नौ हजारभन्दा बढी हेक्टरमा धान खेती
गुल्मी जिल्लामा चैतेधान तीन सय ७१ हेक्टरमा र वर्षेधान आठ हजार ६ सय ७० हेक्टरमा गरेर नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । कालीगण्डकी गाउँपालिकाका अर्बेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाका लिम्घा, अस्लेवा, भर्मचौरलगायत बडीघाट खोलाको आसपासका क्षेत्रमा धानखेती हुन्छ । 

See More On

सुझावित समाचार