वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान हुने नीति, रणनीति र कार्यनीतिको अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा हाते पर्चा जारी गर्दै प्रतिवद्धता जनाएका हुन्।
जिल्लामा संचालित सबै सामुदायिक विद्यालयमा पुस्ताकालय, खेल मैदान, प्रयोगशाला, शैक्षिक सामाग्री, कम्प्युटर, निःशुल्क इन्टरनेट, फर्निचर, सफा शौचालय र पर्याप्त कक्षा कोठासहितको भवनको व्यवस्था गर्ने, प्रत्येक पालिकामा कम्तिमा एउटा विद्यालयमा विज्ञान र कम्युटर साइन्स विषय भएको कक्षा–११ र १२ को पढाइ सञ्चालन गर्ने, विद्यालयहरुमा भर्नादर वृद्धि, ड्रपआउटदर कमी र सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार गर्ने प्रतिवद्धतासमेत उक्त पर्चामार्फत् सार्वजनिक पत्रमा उल्लेख छ।