दोस्रोपटक आमनेसामने भएका यी दुवै उम्मेदवार आ–आफ्ना क्षेत्रमा प्रभावशाली छन् । सुनुवार दोहोरिने दाउमा छन् भने खतिवडा अघिल्लो हारको बदला लिने प्रयासमा देखिन्छन् ।
ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा र एमाले नेता यज्ञराज सुनुवार प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा छन् । दुई निर्वाचन क्षेत्र हुँदा ०७० सालमा खतिवडा र सुनुवार दुई क्षेत्रबाट विजयी भएका थिए । निर्वाचन क्षेत्र एउटै भएपछि ०७४ को निर्वाचनमा सुनुवारले खतिवडालाई पराजित गरेका थिए । खतिवडा यो निर्वाचनमा बदला लिने योजनामा छन् ।
आ–आफ्नो क्षेत्रमा पकड रहेका उनीहरूबीच ओखलढुंगा एकै निर्वाचन क्षेत्रमा समेटिएपछि दोस्राेपटक चुनावी मैदानमा भिड्न लागेका हुन् । दुवै नेता ओखलढुंगावासी माझ उत्तिकै चर्चित छन् । ०७० सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट यज्ञराज विजयी हुँदा क्षेत्र नम्बर २ बाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित भए । अघिल्लो निर्वाचनमा पाँच हजार दुई सय ५३ मतले सुनुवारसँग पराजित भएका थिए ।
०७४ मा एमाले–माओवादी गठबन्धन थियो । त्यतिवेला माओवादीको साथ पाएका यज्ञराज सुनुवार ३२ हजार पाँच सय ८० मतसहित विजयी भएका थिए । उता रामहरि खतिवडाले २७ हजार तीन सय २७ मतमा चित्त बुझाए ।
एमाले एक भएका वेला माओवादीको पनि मत पाउँदा त्यसवेला पाँच हजार दुई सय ५३ मतले जितेका सुनुवार यसपटक एक्लै मैदानमा छन् । यसअघि साथ दिएको माओवादी रामहरिको पोल्टामा पुगेको छ । एकीकृत समाजवादीले पनि खतिवडालाई साथ दिएको छ । ओखलढुंगामा यसपटक विगतजस्तो कांग्रेसभित्र असन्तुष्टि छैन ।
स्थानीय निर्वाचनको मतपरिणाम पनि गठबन्धनकै पक्षमा बढी भएकाले सहज जित निकाल्ने खतिवडाको दाबी छ । तर, कांग्रेस–माओवादीले गठबन्धन भए पनि आफू जित्ने सुनुवार दाबी गर्छन् । चुनावी एजेन्डा भने खतिवडा र सुनुवारका खासै फरक छैनन् । दुवैले विकास निर्माणका एजेन्डा बोकेका छन् ।
यस्तो छ, जोडघटाउ
०६४ सालमा दुवै क्षेत्र जिते पनि अहिले ओखलढुंगामा माओवादीको प्रभाव कम छ । त्यसवेला माओवादीका केशव राई ११ हजार तीन सय ३५ मत ल्याएर क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । पराजित कांग्रेसका बालकृष्ण दाहालले नाै हजार ५३ र एमालेका यज्ञराज सुनुवारले आठ हजार नाै सय २० मत पाएका थिए ।
क्षेत्र नम्बर २ मा त्यतिवेला कांग्रेस उम्मेदवार बालाराज कार्की थिए । उनले आठ हजार ७५ मत पाए । एमालेका किशोरकुमार अधिकारीले आठ हजार सात सय ३३ मत पाउँदा माओवादीका बालकृष्ण ढुंगेल ११ हजार ६९ मत ल्याएर निर्वाचित भएका थिए ।
तर, ६ वर्षपछिको निर्वाचनमा यो मत माओवादीले बचाउन सकेन । ०६४ मा पहिलो पार्टी बनेको माओवादी दुवै निर्वाचन क्षेत्रमा तेस्रोमा खुम्चियो ।
क्षेत्र नम्बर १ बाट ०७० मा यज्ञराज सुनुवार निर्वाचित भए । उनले १२ हजार नाै सय ४३ मत पाउँदा कांग्रेसका बालकृष्ण दाहालले नाै हजार नाै सय ४३ मत मात्रै ल्याए । माओवादीका केशव राई दुई हजार नाै सय ९६३ मतमा खुम्चिए ।
क्षेत्र नम्बर १ मा यज्ञराजको जस्तै प्रभाव र मतान्तर क्षेत्र नम्बर २ मा रामहरि खतिवडाले कायम गरेर चुनाव जिते ।
खतिवडा १३ हजार नाै सय चार मत ल्याएर निर्वाचित भए । एमालेका नानीबाबु बुढाथोकीको पक्षमा आठ हजार पाँच सय १० मत मात्रै खस्यो । माओवादीका पेसलकुमार खतिवडाले तीन हजार ६ सय ३६ मत ल्याए ।
प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा (क) तर्फ एमालेबाट निवर्तमान सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र (ख) तर्फ एमालेका ज्ञानबहादुर खड्का र माओवादीका बाबुराम गौतम मैदानमा छन् ।
जिल्लामा १ स्थानीय तहको अध्यक्ष र दुई वडाध्यक्ष जितेको जसपाले पनि आफ्नै उम्मेदवार उठाएको छ ।
स्थानीय तहको निर्वाचनमा ओखलढुंगाका आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकाको मेयरसहित चार स्थानीय तहका प्रमुख कांग्रेसले, एक एमाले, एक माओवादी, एक जसपा र एक स्वतन्त्रले प्रमुखमा जितेका छन् ।
गत स्थानीय निर्वाचनमा वडाध्यक्षहश्लेर पाएको मत परिणामअनुसार ओखलढुंगामा कांग्रेसले ३२ हजार दुई सय ८८, एमाले २९ हजार पाँच सय ९१, माओवादी केन्द्र ६ हजार नाै सय ६१, जसपा दुई हजार एक सय ९४, एकीकृत समाजवादी पाँच सय २१ र राप्रपाले एक सय ४६ मत पाएको थियो ।
उक्त मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि छ । गठबन्धको मत जोड्दा ३९ हजार सात सय एक पुग्छ भने एमालेको २९ हजार पाँच सय ९१ मात्रै छ ।