पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभएका आठ लाख ६ हजार तीन सय ९० सहित कुल ५६ लाख ६ हजार तीन सय ९० कित्ता साधारण सेयर प्रतिसेयर रु. एक सय अंकित दरमा निष्कासन गर्न लागेको हो ।

सार्वजनिक आह्वान पत्रअनुसार निष्कासित सेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहने ५१ लाख ५७ हजार आठ सय ८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ ।

सर्वसाधारणलाई बिक्री गरिने सेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मंसिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी, पुर्मु र चुर्मु खोलाको बहाव प्रयोग गरेर ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् ‘ख’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

सुझावित समाचार