कहिलेकाहीँ निर्वाचन अलि निरश र अनुमान गर्न कठिन भइदिन्छ । प्रतिस्पर्धामा अपरिहार्य विजेताजस्ता देखिने कतिपय उम्मेदवारले चुनावमा नमिठो पराजय व्यहोर्न सक्छन् । त्यस्तै, निर्वाचनअघि खासै चर्चामा नआएका र नामै नसुनिएका व्यक्ति चुनावमा अप्रत्याशित रूपमा विजयी हुन पुग्छन् । कतिपय चुनावी परिणाम निकै रोचक हुने गर्छन् । जसका आश्चर्यजनक मत परिणामले मतदाता र उम्मेदवार नै चकित पर्ने गरेका छन् । विश्वका केही रोचक चुनावी प्रतिस्पर्धा र आश्चर्यजनक नतिजा :
ट्रम्प भर्सेस हिलारी
मत सर्वेक्षण र राजनीतिक विश्लेषण फेल, परिणाम अप्रत्याशित

अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको परिणाम धेरैका निम्ति अप्रत्यासित र रोचक थियो । एक दर्जनभन्दा बढी महिलाले लगाएको यौन दुव्र्यवहारको आरोप र अनेकौँ काण्डबीच पनि डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा निर्वाचन जिते । मूलधारका मिडिया, महिनौँदेखिका सर्वेक्षण र राजनीतिक भविष्यवेत्तालाई पूर्णतः गलत साबित गर्दै रिपब्लिकन पार्टीका ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति निर्वाचित भएका थिए ।
कहिल्यै कुनै राजनीतिक भूमिका र पदमा नरहेका अर्बपति व्यापारीको अमेरिकाको राष्ट्रपतिमा विजयले अमेरिकामा परम्परागत राजनीतिक सोचलाई उल्टाइदिएको थियो, जुन वासिंगटनका स्थापित राजनीतिज्ञहरूका लागि ठूलो धक्का भयो । पेन्सिल्भेनिया, ओहायो, मिसिगन, विस्कन्सिन र फ्लोरिडा जितेर ट्रम्पले डेमोक्र्याटिक पार्टीलाई चकित पारिदिए । हिलारीका समर्थकले उनले प्राप्त गरेको पपुलर भोटमा चित्त बुझाउनुपर्यो । चुनावी अभियानका क्रममा ट्रम्प विपक्षीविरुद्ध आक्रामक, आप्रवासीप्रति असहिष्णु र आफूलाई राष्ट्रवादीका रूपमा प्रस्तुत भएका थिए ।
पल वेलस्टोन भर्सेस रुडी बोसविट्ज
भुइँमान्छेले अर्बपतिलाई पराजित गरेको त्यो निर्वाचन

पल वेलस्टोन एक अमेरिकी शिक्षाविद्, लेखक, र राजनीतिज्ञ थिए, जसले सन् १९९१ देखि सन् २००२ सम्म मिनेसोटाबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गरे । डेमोक्र्याट पार्टी (डिएफएल)का सदस्य वेलस्टोन पार्टीको जनवादी र प्रगतिशील शाखाका नेता थिए । सन् १९९० मा मिनेसोटाका गुमनाम यी मध्यमवर्गीय प्राध्यापकले असम्भव केही हुँदैन भन्ने पुष्टि गरेर देखाए, प्रतिद्वन्द्वीलाई सजिलै पराजित गरे । चुनाव प्रचार गर्न पल वेलस्टोनसँग यथेस्ट रकमसमेत थिएन, न त अनुभव थियो । प्रस्ट भन्दा उनी अमेरिकी सिनेटका उम्मेदवार जस्ता देखिँदैनथे । तर, यसले उनलाई लोकप्रिय करोडपति प्रतिद्वन्द्वी सिनेटर रुडी बोसविट्जलाई पराजित हुनबाट रोकेन ।
पलले जित्लान् भनेर कसैले पनि सोचेका थिएनन् । तर, आफूलाई भुइँमान्छेको रूपमा प्रस्तुत गरेर उनले ठूला व्यक्ति र खराब राजनीतिबाट आजित मजदुर वर्गको मन जिते । उनी सधैँ जिन्स लगाउँथे, विद्यालय बसमा यात्रा गर्थे र आफ्नो भाषण आफैँ लेख्थे । उनी होटलहरूमा भन्दा मानिसहरूको घरमा बसे । एउटा टेलिभिजन विज्ञापनमा उनले आफूसँग पर्याप्त बजेट नभएकाले ‘छिटो कुरा बोल्नुुपरेको’ बताएका थिए ।
चुनाव हारेर पनि चान्सलर बने हिटलर
सन् १९३२ मा जर्मनीको राष्ट्रपति पदको निर्वाचनमा प्रतिस्पर्धा दुई उम्मेदवारबीच केन्द्रित थियो : बहालवाला राष्ट्रपति पाउल भोन हिन्डनवर्ग र एडोल्फ हिटलर । अधिकांश मानिसलाई अझै पनि थाहा छैन कि हिटलरले वास्तवमा चुनाव हारेका थिए । उनले केबल ३५ प्रतिशत मत ल्याएका थिए । त्यसो भए उनी कसरी चान्सलर भए ? त्यस समय जर्मनीमा राजनीतिक अस्थिरता र राजनीतिक दलबीच एकताको अभाव थियो । यही अभावको सदुपयोग गर्दै हिटलरका समर्थकले हिन्डनवर्गलाई संसदीय पार्टीहरूबाट स्वतन्त्र गठबन्धन सरकारको नेताको रूपमा हिटलरलाई चुन्न विश्वस्त पारे ।
उमेरले असीको दशकमा हिडिरहेका हिन्डनवर्ग नाजी पार्टीको बढ्दो लोकप्रियतासमेतलाई मध्यनजर गर्दै अन्ततः त्यो प्रस्ताव मान्न बाध्य भए । उनले हिटलरलाई सन् १९३३ को जनवरीमा चान्सलर नियुक्त गरे । सन् १९३४ मा हिन्डनवर्गको मृत्यु भएपछि उनले आफूलाई नै राष्ट्रपति घोषणा गरे र लगत्तै राष्ट्रपति कार्यालय नै खारेज गरिदिए । त्यसलगत्तै गराएको निर्वाचनमा ८८ प्रतिशत मत उनको पक्षमा खसेको थियो । यसरी हिटलर निर्वाचन हारेर पनि चान्सलर बन्न पुगे । उनी संसारमा सबैभन्दा धेरै घृणा गरिने नेतामध्ये एक हुन् ।
बुस भर्सेस गोर
मतगणनाबारे अदालतको त्यो ऐतिहासिक फैसला
यो राष्ट्रपति निर्वाचनको इतिहासमा बुस भर्सेस गोर ऐतिहासिक फैसला थियो । सन् २००० मा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतगणनासम्बन्धी विवाद अदालतसम्म पुगेको थियो । सन् २००० को डिसेम्बरमा अमेरिकी सर्वोच्च अदालतले फ्लोरिडा राज्यको उच्च अदालतले जर्ज डब्लु बुस र एल गोरबीचको चुनावमा पुनः मतगणनाका लागि दिएको आदेश असंवैधानिक भएको ठहर गरेको थियो । डिसेम्बर ८ मा फ्लोरिडाको उच्च अदालतले भोट टेबुलेसन मेसिनबाट छुटेका ६१ हजारभन्दा बढी मतपत्रलाई हातले पुनः गणना गर्न आदेश दिएको थियो । तर, तत्काल बुस समर्थकले सो आदेश रोक्न अमेरिकी सर्वोच्च अदालतलाई गुहारे । सर्वोच्चले बुसका पक्षमा फैसला गर्दै पुनः गणना रोक्न आदेश दियो । संघीय अदालतले पुनः मतगणनाको पक्षमा फैसला गरेको भए गोरले फ्लोरिडा राज्य जित्ने र राष्ट्रपति बन्ने सम्भावना पनि थियो ।
लोकप्रिय चर्चिलको त्यो पराजय
विन्स्टन चर्चिल बेलायतमा त्यतिवेला जनताका सर्वाधिक प्रिय प्रधानमन्त्रीहरूमध्ये एक थिए, तर उनी निर्वाचनमा नराम्रो पराजय चाख्न बाध्य भए । चर्चिल बेलायतलाई दोस्रो विश्वयुद्धबाट पार लगाउन मद्दत गर्ने ठूलो कारक थिए । उनको तीक्ष्ण बुद्धि र सानदार राजनीतिक समझको खुबै प्रशंसा हुन्थ्यो । तर, दोस्रो विश्वयुद्धपश्चात्को निर्वाचनमा उनको पराजयले धेरैलाई स्तब्ध बनाउँछ ।
भयानक द्वितीय विश्वयुद्धको समयमा आफ्नो देशको सफलतापूर्वक नेतृत्व गरेका चर्चिललाई सन् १९४५ को चुनावमा क्लेमेन्ट एट्लीले सानदार रूपमा पराजित गरे । चर्चिललाई नायकको रूपमा प्रशंसा गरेका मानिसले नै एट्लीलाई मतदान गरेको थाहा पाउँदा चर्चिलको पार्टी छक्क परेको थियो । जे भए पनि चुनावले ग्रेट ब्रिटेनको यथास्थितिमा कम्पन ल्यायो र देशलाई नयाँ दिशातर्फ धकेल्यो ।
उत्तर कोरियामा पनि हुन्छ चुनाव !
तानाशाही शासन रहेको उत्तर कोरियामा पनि चुनाव हुन्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, अन्तर्राष्ट्रिय समुदायलाई देखाउनकै लागि भए पनि यहाँ चुनाव गरिन्छ । सुप्रिम पिपुल्स एसेम्ब्ली (एसपिए)का लागि हरेक पाँच वर्षमा संसदीय चुनाव गर्ने गरिन्छ । तर, मतदानबाट मतदाताले आफूलाई मन लागेको उम्मेदवार छनोट गर्ने विकल्प भने हुँदैन् । प्रत्येक जिल्लामा एक मात्र उम्मेदवार हुन्छन्, जो व्यक्तिगत रूपमा किम जोङ उनले छनोट गर्छन् ।
मतपत्रमा पहिले नै स्वीकृत गरिएको एउटा ‘रबर स्ट्याम्प’ उम्मेदवार हुन्छ । मतदाताहरूले सोही उम्मेदवारलाई अनुमोदन गर्नुपर्ने हुन्छ । यस हिसाबले पहिला नै प्रस्ताव गरिएका सबै उम्मेदवार विजयी हुन्छन् । उम्मेदवारको विरोध गर्न चाहने मतदाताले विशेष मतपेटिका प्रयोग गरी सार्वजनिक रूपमा विरोध गर्न सक्छन् । तर, किमले खडा गरेका पात्रको विरुद्धमा बोल्नु आफूलाई जोखिममा पार्नु भएकाले कसैले पनि असहमति जनाउँदैनन् ।यहाँ निर्वाचनलाई प्रायः जनगणनाको रूपमा लिइन्छ, त्यसैले मतदान अनिवार्य छ । गाउँको जनसंख्या सूचीको आधारमा मतदान सूचीहरू जाँच गरिन्छ, र दुवैमा नदेखिने नागरिकहरूलाई कडा सजाय दिइन्छ । सर्वोच्च जनसभाको अधिकार शून्यजस्तै हुन्छ । उत्तर कोरियाको कानुन पार्टीको संयन्त्रले बनाउने गर्छ भने जनसभाले तिनलाई पारित गर्ने औपचारिक भूमिका मात्र निर्वाह गर्छ । पछिल्लोपटक सन् २०१९ मा जनसभाको निर्वाचन भएको थियो ।
(एजेन्सीहरूको सहयोगमा सुभाष शर्मा)