टी–२० विश्वकप क्रिकेट : पाकिस्तान तेस्रोपटक फाइनलमा

साबिक उपविजेता न्युजिल्यान्डलाई सात विकेटले हराउँदै पाकिस्तान सन् २००९ पछि आइसिसी टी–२० विश्वकपको फाइनलमा

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा तेस्रोपटक फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार सिड्नी क्रिकेट मैदानमा साबिक उपविजेता न्युजिल्यान्डमाथि सात विकेटको सानदार जित निकाली अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । पाकिस्तानले अब उपाधिका लागि बिहीबार हुने भारत र इंग्ल्यान्डबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा ओपनर ब्याटसम्यानद्वय बाबर अजाम र मोहम्मद रिजवान चम्केपछि पाकिस्तानले १३ वर्षपछि तेस्रोपटक फाइनलमा स्थान बनाउन सफल भएको हो । 

विश्वकपको पहिलो दुई संस्करणमा पाकिस्तान लगातार फाइनलमा पुगेको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको टी–२० विश्वकपको फाइनलमा पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो । सन् २००९ को विश्वकप फाइनलमा पाकिस्तानले श्रीलंकामाथि आठ विकेटको जित निकाली उपाधि हात पा¥यो । न्युजिल्यान्डले यसपटक लगातार फाइनल खेल्ने सपना पूरा गर्न सकेन । 

सिड्नी मैदानमा पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १९.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ५३ रन बनायो । पाकिस्तानका लागि सान मसुदले विजयी रन बटुलेका थिए । 

बलियो ओपनिङ साझेदारी 
लक्ष्य पछ्याएको इनिङ्समा पाकिस्तानका लागि ओपनरद्वय बाबर र रिजवानले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । दुवैले प्रतियोगितामा पहिलोपटक एक सय पाँच रनको साझेदारी गर्दैै जितको आधार बनाए । इनिङ्सको १२.४ ओभरमा बाबरले आफ्नो विकेट गुमाए । यसअघि, कप्तान बाबर रन लिन संघर्ष गरिरहेका थिए । सेमिफाइनलमा उनी चम्किँदा पाकिस्तानले राहत पाएको छ । बाबरले ४२ बलमा ५३ रनको योगदान गरे । 

उनले आफ्नो अर्धशतकीय इनिङ्समा सात चौका प्रहार गरेका थिए । इनिङ्सको पहिलो ओभरमै न्युजिल्यान्डका विकेटकिपर डेवोन कोन्वेले बाबरको सहज क्याच मिस गरेका थिए । बोल्टको ओभरमा बाबरको सहज क्याच कोन्वेले मिस गरेका हुन् । त्यसवेला बाबरले एक रन पनि बनाएका थिएनन् । बाबरले एक जीवनदानको भरपूर फाइदा लिए । त्यसपछि रिजवानले ४३ बलमा ५७ रनको योगदान दिए । उनले पाँच चौका प्रहार गरे । बाबर र रिजवानले शतकीय साझेदारी गर्दा जोखिम उठाएनन् । 

दुवै ब्याट्सम्यानले एक छक्का पनि प्रहार गरेनन् । पाकिस्तानका दुवै ओपनरलाई फास्ट बलर ट्रेन्ट बोल्टले आउट पारेका थिए । रिजवानले यो वर्ष १०औँ अर्धशतक लगाए । बाबरले आफ्नो अन्तर्राष्ट्रिय टी–२० खेलकै ३०औँ अर्धशतक पूरा गरे । पाकिस्तानको जितमा मोहमद ह्यारिसले २६ बलमा ३० रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिँदा मिचेल सान्टरले एक विकेट लिए । 

साहिनको कसिलो बलिङ
न्युजिल्यान्डको बलियो ब्याटिङ लाइनअपमाथि फास्ट बलर साहिन साह अफ्रिदीले निकै कसिलो बलिङ गरेका थिए । उनले चार ओभरमा २४ रन खर्चेर महत्वपूर्ण दुई विकेट हात पारे । इनिङ्सको तेस्रो बलमै साहिनले फिन एलेनलाई एलबिडब्लुको धरापमा राख्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाए । यसैगरी, कप्तान केन विलियम्सनको विकेट पनि साहिनले नै लिए । विलियम्सन बोल्ड भए । न्युजिल्यान्डले विलियम्सनलाई गुमाउँदा स्कोर बोर्डमा ११७–३ को प्रदर्शन गरेको थियो । 

न्युजिल्यान्डको इनिङ्समा विलियम्सन र डायल मिचेलबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी भएको थियो । विलियम्सनले ४२ बलमा समान एक चौका र छक्का प्रहार गरी ४६ रन बनाए । मिचेलले ३५ बलमा ५३ रनको नटआउट योगदान दिए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । मिचेलले जेम्स निसिमसँग पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरे । नसिमले १२ बलमा १६ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नबाजले एक विकेट लिन सफल भए । 

सुझावित समाचार