भूकम्पमा परी घाइते भएकाको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र  उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई भनेका छन् । 

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपत् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिए । गृहमन्त्री खाणले घाइतेको अवस्था र अहिले उनीहरूलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका छन् ।  

उनले  भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि वासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिए ।  

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन् । भूकम्पमा परी मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनामा गृहमन्त्री खाणले हार्दिक समवेदना व्यक्त गरेका छन् । 

सुझावित समाचार