नेपालले भारतीय बजारमा विद्युत् बिक्री (निर्यात) गर्न गरेको प्रस्ताव स्वीकृति दिन भारतले ढिलासुस्ती गरेको छ । नेपालले प्रस्ताव गरेकोमध्ये हालसम्म भारतले सात आयोजनाको तीन सय ८६ मेगावाट विद्युत् आफ्नो देशमा बिक्री गर्न स्वीकृति दिइसकेको छ । तर, सात सय मेगावाटका १० आयोजनाको विद्युत् बिक्री गर्ने प्रस्तावलाई भने भारतले रोकिराखेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा उक्त प्रस्ताव पेस गरेको दुई महिनाभन्दा बढी भइसक्यो । तर, स्विकृतिका लागि भारतबाट ढिलासुस्ती भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
नेपालमा विद्युत् उत्पादन हुने सिजन सकिन लागेसँगै यो वर्षको निर्यात पनि अन्तिम चरणमा छ । साथै, अहिले पनि नेपालमा धेरै भएर दैनिक दुई सय मेगावाटबराबरको विद्युत् खेर गइरहेको छ । भारतीय बजारमा बिजुली पर्याप्त छैन । तर, विभिन्न १० आयोजनालाई स्रोत मानेर सात सय मेगावाट विद्युत् बिक्री गर्ने नेपालको प्रस्तावलाई भने भारतले अझै बेवास्ता गरेको छ ।
भारतले नेपाल, भारत र आफूले विद्युत् व्यापार सम्झौता गरेको मुलुकको लगानी भएको आयोजनाबाट उत्पादन भएको बिजुली किन्ने कडा सर्त राखेको छ । नेपालले सोही मापदण्ड पूरा गरेर आवेदन दिँदासमेत भारतले स्वीकृतिमा ढिलाइ गरेको हो । नेपाल र भारतबीच कात्तिक ०७१ मा द्विपक्षीय ऊर्जा व्यापार सम्झौता (पिटिए) भएको थियो । त्यसपछि विभिन्न चरणमा थप सम्झौता तथा सहमति गर्दै यही वर्षदेखि नेपाल र भारतबीच व्यावसायिक रूपमा विद्युत् व्यापार हुन थालेको छ । यसअघि भने इनर्जी बैंकिङको नेपाल र भारतबीच विद्युत् आदान–प्रदान गरिन्थ्यो ।
नेपालमा भारतीय बजारमा व्यावसायिक रूपमा विद्युत् बिक्री गर्न त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । भारतले यसअघि कालीगण्डकी ए (१४० मेवा), मस्र्याङ्दी (६८ मेवा), मध्यमस्र्याङ्दी (६७ मेवा), लिखु–४ (५१ मेवा), त्रिशूली (२३.५ मेवा) र देवीघाट (१४.४५ मेवा) जलविद्युत् आयोजनाको तीन सय ६४ मेगावाट बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिइसकेको छ । गत साता मात्रै चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् बिक्री गर्न पनि भारतले स्वीकृति पठाएको छ । योसँगै गत शुक्रबारदेखि प्राधिकरणले तीन सय ८६ मेगावाट विद्युत् २४ घन्टा भारतीय खुला बजारमा बिक्री गर्न थालेको छ ।
तर, भारतले माथिल्लो तामाकोसी (४५६ मेवा), चमेलिया (३० मेवा), माथिल्लो भोटेकोसी (४५ मेवा), मिस्त्री खोला (४२ मेवा), लिखु खोला ए (२४.२ मेवा) र सोलु खोला (२३.५ मेवा) जलविद्युत् आयोजनाको विद्युत् बिक्री गर्ने प्रस्ताव स्वीकार गरेको छैन । यस्तै, काबेली खोला बी १ (२५ मेवा), माई खोला (२२ मेवा), हेवा खोला ए (१५ मेवा) र तल्लो मोदी (१० मेवा) जलविद्युत् आयोजनाको विद्युत् बिक्री गर्न नेपालले गरेको प्रस्ताव अझै स्वीकृत भएको छैन । यी आयोजनाहरूको कुल क्षमता ६९२.७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक उच्च अधिकारले भारतबाट विद्युत् बिक्रीको स्वीकृति ढिलासुस्ती
भएको बताए ।
‘यो वर्षको विद्युत् निर्यात गर्ने समय सकिन लाग्यो । अर्काे महिनादेखि त विद्युत् आयात नै गर्नुपर्ने बाध्यता आउँछ । तर, अहिले विद्युत् खेर गइरहेको छ,’ उनले भने, ‘त्यो अवस्थामा भारतबाट समयमै स्वीकृति पाउन पाएको भए राम्रो हुने थियो । तर, भारतले स्वीकृति दिन ढिला–ढिला गरेको जस्तो छ । हामीले कहिले हुन्छ भनेर सोध्दा गर्दै छौँ, गर्दै छौँ भन्ने जवाफ आउँछ । तर, निर्णय भने आउँदैन ।’
यद्यपि, अब भारतमा हुने विद्युत् निर्यातलाई प्रभावकारी बनाउन द्विपक्षीय बैठक गर्ने, पहलकदमी बढाउने उनको भनाइ छ । अर्काे वर्ष अहिलेकोजस्तो विद्युत् खेर हुने समस्या आउन नदिने र स्वदेशी खपतसमेत बढाउने उनले बताए । नेपालमा जलविद्युत्को उत्पादन नदी प्रवाहमा आधारित छ । बर्सातमा खोलाहरूमा पानीको बहाव बढी हुँदा जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन्छन्, त्यसवेला विद्युत्को उत्पादन मागभन्दा पनि बढी हुन्छ । तर, हिउँद लागेपछि भने खोलामा पानी घट्ने हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्दै जान्छ । त्यो अवस्थामा नेपालले स्वदेशी माग धान्न भारतबाट झन्डै पाँच सय मेगावाट विद्युत् आयात गर्नुपर्छ ।
हाल नेपालको विद्युत् जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट छ । तर, नेपालको पिक विद्युत् माग १७ सय मेगावाट हारहारी छ ।भारतले स्वीकृति गर्न ढिलाइ गरेपछि भारतस्थित नेपाली दूतावासबाट समेत आवश्यक पहल हुँदै आएको छ । तैपनि, भारतले स्वीकृति दिन ढिलाइ गरेको छ । दुई साताअघि ऊर्जा मन्त्रालयले यसमा आवश्यक सहजीकरण गर्न परराष्ट्रमार्फत भारतलाई पत्र पनि पठाएको थियो । तर, त्यसको हालसम्म कुनै जवाफ नआएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।
स्वीकृतिको म्याद एक वर्ष, अर्काे वर्ष फेरि झमेला
भारतले अहिलेसम्म सात आयोजनाको तीन सय ८६ मेगावाट विद्युत् आफ्नो देशमा बिक्री गर्ने नेपाललाई स्वीकृति दिएको छ । तर, त्यसको म्याद पनि एक वर्ष मात्रै रहेको छ । चिलिमेको २२ मेगावाट विद्युत् किन्न नेपालले गत साता मात्रै अनुमति पाएको हो । तर, त्रिशूलीको २५ मेगावाट र देवीघाटको १४ मेगावाट विद्युत् बिक्री गर्न गत वर्षको कात्तिकमा अनुमति आएको थियो । कालीगण्डकी ए, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी र लिखु–४ को विद्युत् बिक्री गर्न भने गत चैतमा अनुमति पाएको थियो । त्यसअनुसार अर्काे वर्ष विद्युत् बिक्री गर्ने सिजनमा पुनः स्वीकृति लिनुपर्ने हुन्छ । त्यसवेलामा पनि भारतले अहिलेजस्तै ढिलासुस्ती गरेमा अर्काे चुनौती आउन सक्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यसवेलामा पनि पुनः विद्युत् खेर जाने समस्या आउने उनीहरूको भनाइ छ । तसर्थ, अब दीर्घकालीन सम्झौताका लागि पनि पहल गरिने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।
चिलिमेको २२ मेगावाट विद्युत् बिक्री गर्न अनुमति
भारतले २२.१ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादन भएको विद्युत् बिक्री गर्न स्वीकृति दिएको छ । गत साताको सोमबार नै भारतले उक्त स्वीकृति दिएको हो । त्यसबापतको विद्युत् निर्यात भने शुक्रबारदेखि हुुन थालेको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । हाल औसतमा ५.१५ भारुमा नेपाली बिजुली निर्यात भइरहेको उनको भनाइ छ । चिलिमेले स्वीकृति पाएसँगै नेपालका सात आयोजनाको तीन सय ८६ मेगावाट विद्युत् भारतमा निर्यात हुन थालेका छन् । यसअघि ६ आयोजनाको तीन सय ६४ मेगावाट विद्युत् भारतमा निर्यात भइरहेको थियो ।
भारतबाट स्वीकृतिप्राप्त ६ जलविद्युत् आयोजना
- कालीगण्डकी ए (१४० मेवा)
- मस्र्याङ्दी (६८ मेवा)
- मध्यमस्र्याङ्दी (६७ मेवा)
- लिखु–४ (५१ मेवा)
- त्रिशूली (२३.५ मेवा)
- देवीघाट (१४.४५ मेवा)
- चिलिमे (२२.१ मेवा)
- भारतले स्वीकृति नदिएका १० जलविद्युत् आयोजना
- माथिल्लो तामाकोसी (३५६ मेवा)
- चमेलिया (३० मेवा)
- अपर भोटेकोसी (४५ मेवा)
- मिस्त्री खोला (४२ मेवा)
- लिुख खोला ए (२४.२ मेवा)
- सोलु खोला (२३.५ मेवा)
- काबेली खोला बी १ (२५ मेवा)
- माई खोला (२२ मेवा)
- हेवा खेला ए (१५ मेवा)
- तल्लो मोदी (१० मेवा)