चन्द्रनगरमा सामा–चकेवा उत्सव

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सामा–चकेवा उत्सव सम्पन्न भएको छ। चन्द्रनगर गाउँपालिकाको आयोजनामा सम्पन्न उत्सवमा प्रदर्शनी भएका क्लबमध्ये उत्कृष्ट हुनेहरूलाई पुरस्कृतसमेत गरिएको हो।

पुरस्कृत हुने क्लबहरूमा नवनिर्माण युवा क्लब खड्काटोल, श्री युनाइटेड युथ क्लब खड्काटोल, श्री जनज्योति युवा क्लब चन्द्रनगर रहेका छन्। प्रथम हुने नवनिर्माण युवा क्लब खड्काटोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खड्काटोललाई नगद रु. १० हजार तथा प्रमाणपत्र र तेस्रो हुने श्री जनज्योति युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका उद्घोषक अमृत चौधरीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकायबाट कार्यक्रम नभएको हुदाँ पुरानो पुस्ताहरुबाट नयाँ पुस्तामा पनि हस्तान्तरण होस् भन्ने उदेश्यका साथ सामा–चकेवा उत्सवको आयोजना गरिएको बताए । वडा नंं. ७ का स्थानीय ललिता चौधरीले गाउँपालिकाले पहिलो पटक सामा–चकेवा उत्सव गरेर उदाहरणीय कार्य गरेको बताइन्। गाउँपालिकाले नै थारु जातीहरुको भेषभुषा झल्किने पोषाक दिएर सामा–चकेवा उत्सव आयोजना गरेको हुदाँ आफुहरू एकदमै उत्साही बनेको अर्का स्थानीय महिला चनकिया चौधरीले जानकारी दिइन्। सामा–चकेवा पर्व द्वितीया तिथि अर्थ छठ पश्चात पारणदेखि पूर्णिमा तिथिसम्म मनाएर अन्त्य गर्ने प्रचलन छ। चन्द्रनगरमा पनि सामा–चकेवा उत्सव पश्चात् नाढिमन तालमा विधिवत रुपमा माटोको विभिन्न मुर्तिहरू बिसर्जनगरी सम्पन्न गरिएको छ । 

के हो सामा–चकेवा उत्सव ?

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो। दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग  र श्रद्धा प्रदर्शित गर्दछ भन्ने मान्यता रही आएको छ। सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन्। दुइवटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ।सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन्।  यो पर्वमा महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन्। यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ।  यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ। यसामा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन्।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन्। मूर्तिलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन्। यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छिन्। डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छिन्।

सुझावित समाचार