चुनावअघि ३० अर्ब आन्तरिक ऋण उठाइँदै

महालेखा नियन्त्रकको कार्यालयअनुसार शुक्रबारसम्म सञ्चित कोष करिब ८० अर्ब घाटामा

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

संघीय तथा प्रदेश निर्वाचनमा दैनिक खर्च धान्न स्रोत अभाव हुने भएपछि सरकारले चर्काे ब्याजदरमा आन्तरिक ऋण लिने भएको छ । अर्थ मन्त्रालयले चुनावअघि नै स्रोत व्यवस्थापन हुने गरी आन्तरिक ऋणको तालिका स्वीकृत गरेको हो । मन्त्रालयअनुसार दोस्रो त्रैमास (कात्तिक–पुस)मा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका स्वीकृत भएको छ । सरकारले जारी गरिरहेको ट्रेजरी बिल्सको ब्याजदर अहिले १२ प्रतिशत नाघिसकेको छ ।  

 लक्ष्यअनुसार राजस्व नउठेपछि चुनावी खर्च धान्नकै लागि आन्तरिक ऋण उठाउनुपरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) तीन खर्ब ७१ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, २० कात्तिकसम्म दुई खर्ब ३२ अर्ब मात्रै राजस्व संकलन भएको छ । आयात कडाइले राजस्व संकलन सोचेअनुरूप नभएपछि सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । महालेखा नियन्त्रकको कार्यालयअनुसार शुक्रबारसम्म सञ्चित कोष करिब ८० अर्बले घाटामा छ । विदेशी मुद्राको सञ्चिति बढाउन सरकारले केही वस्तुको आयातमा कडाइ गर्दा भन्सारतर्फको राजस्वमा धक्का पुगेको छ । 

चालू आर्थिक वर्षमा सरकारले दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार नै आन्तरिक ऋणको तालिका स्वीकृत भएको अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले जानकारी दिए । उनले भने, ‘सुरुका महिनाहरूमा बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अवस्थालाई नै ध्यानमा राखेर आन्तरिक ऋण उठाएनौँ । तर, अब थोरै–थोरै गर्दै ऋण उठाउँदै जानुपर्ने हुन्छ । क्रमशः नउठाएर अन्तिममा उठाउन खोज्दा ब्याज महँगो पर्ने र बजारमा तरलताको समस्या अझ बल्झिने जोखिम रहन्छ ।’   

वैदेशिक सहायतालाई दाताका सर्तबमोजिम मात्रै खर्च गर्न मिल्ने भएकाले आन्तरिक ऋण उठाउन लागिएको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ । अर्थ मन्त्रालयले संघ र प्रदेश चुनावका लागि २० अर्ब खर्च हुने अनुमान गरेको छ । मन्त्रालयले निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई  २० अर्ब चार करोड ८३ लाख रुपैयाँबराबरको बजेट स्रोत सुनिश्चितता दिएको छ ।  

सञ्चित कोषमा ८० अर्ब घाटामा देखिए पनि अन्य सरकारी खातामा एक खर्ब अझै मौज्दात रहेको महालेखा नियन्त्रकको कार्यालय स्रोतले जानकारी दिएको छ । 
धरौटी खाता, विशेष खाता (ऋण), विशेष खाता (अनुदान) लगायतका विभिन्न सरकारी  खाताहरूमा करिब एक खर्ब मौज्दात छ । सञ्चित कोषले धान्नै नसक्ने अवस्था आएमा यस्ता खाताहरूबाट पैसा लिएर खर्च धान्ने परिपाटी रहे पनि यसपालि सरकारले सोझै आन्तरिक ऋण उठाउन लागेको हो । सरकारी कोष खाताको विकल्प हुँदाहुँदै पनि आन्तरिक ऋणको बाटो रोज्नु प्रतिकूल हुने महालेखाकै अधिकारीहरूको बुझाइ छ । 

पछिल्लो ६ वर्षको अनुभवका आधारमा बजेट खर्च मुस्किलले ८० प्रतिशत पुग्ने देखिन्छ । तर, त्यसका लागि पनि स्रोत अपुग भएको भन्दै सरकारले शतप्रतिशत आन्तरिक ऋण उठाउने गरेको तथ्यांकले देखाउँछ । सरकारी आयका अन्य औजारको प्रयोग नगरी आन्तरिक ऋणमा मात्रै भर पर्ने गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको एक प्रतिवेदनले औँल्याएको छ । कुल खर्चमा पनि पुँजीगत खर्च लक्ष्यको आधाभन्दा कम हुने भएकाले आन्तरिक ऋणको प्रयोग चालू खर्चमा भएको आशंकामा बल पुगेको प्रतिवेदनमा उल्लेख छ । समग्र खर्च घट्दा पनि आन्तरिक ऋणको परिचालन बढ्दै जानुले यसलाई थप आधार दिएको प्रतिवेदनको ठहर छ । 

सुझावित समाचार