बजारमा एक पानपसले थिए । जबजब कोही उनको पसलमा पान किन्न जान्थे, उनी तिनै ग्राहकको बाटो कुरिरहेका थिए कि जस्तो लाग्थ्यो । उनलाई हरेक विषयमा कुराकानी गर्न असाध्यै मजा लाग्यो । त्यसैले, उनी पान बनाउँदै गर्दा पनि निकै लामो कुराकानी गर्न रुचाउँथे । कसैले अलि छिटो गर्नु न, मलाई हतार भयो भन्दा पनि उनी जिन्दगीमा यति धेरै हतारो गरेर कहाँ नै पुग्नु छ र हजुर भन्दै फिस्स हाँसिदिन्थे ।
एक दिन एक भद्र पुरुष उनको पसलमा पान किन्न पुगे । पान बनाउँदै गर्दा पसलेले आफ्नो स्वभावअनुसार नै कुराकानी सुरु गरे । कुरा चल्दै जाँदा उनीहरू कर्म र भाग्यको विषयमा बहस गर्न थाले । ग्राहकले पनि पसलेका तर्कमा चासो दिन थाले । उनले पसलेसित प्रश्न गरे मान्छे कर्मले अघि बढ्छ कि भाग्यले ? पानपसलेले आफ्नो लामो व्याख्या सुरु गरे– तपाईंको कुनै बैंकमा लकर त पक्कै छ होला, होइन
सर ? हरेक लकरका दुईवटा चाबी हुन्छन् । एक तपाईंसित हुन्छ र अर्को बैंकको म्यानेजरसित । तपाईंको साथमा परिश्रमवाला चाबी हुन्छ भने म्यानेजरको साथमा भाग्यवाला । जबसम्म दुवै एकसाथ लाग्दैनन्, तबसम्म लकर खुल्दैन । त्यसैले, जिन्दगीमा तपाईंले आफ्नो चाबीचाहिँ तालामा लगाइराख्नुपर्छ । के थाहा, ईश्वरले आफ्नो चाबी कहिले लगाइदिने हुन् । हुन सक्छ, उनले आफ्नो चाबीचाहिँ लगाइरहेका छन् र हामीचाहिँ आफ्नो चाबी लगाइरहेका छैनौँ र हाम्रो ताला खुलिरहेको छैन कि ?
ग्राहक पसलेको जवाफ सुनेर निरुत्तर भए ।