बदलिँदै नरैनापुर : बाहिर ननिस्कने महिलाहरू सुत्केरी हुन अस्पताल जान थाले

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको छ। गत आर्थिक वर्ष ०७८–७९ मा एक हजार दुई सय ५१ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए। 

घरभन्दा बाहिर नजाने महिलाहरूसमेत पछिल्लो समय स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने र स्वास्थ्य सल्लाह लिन थालेको उनले बताए। अघिल्लो आव ०७७–७८ मा उक्त गाउँपालिकास्थित ६ वटा स्वास्थ्य संस्थामा एक हजार ३०७ जना गर्भवती महिलाले सुत्केरी सेवा लिएका थिए। यहाँ मुस्लिम र मधेसी समुदायको बाहुल्यता छ। 

गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउन थालेपछि मातृ तथा शिशु मृत्युदर पनि घटेको छ। गत आव ०७८–७९ एकजना सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख साहले बताए। अघिल्लो आव ०७७–७८ मा चारजना सुत्केरी महिलाको मृत्यु भएको थियो। स्वास्थ्य संस्थामा ढिलागरी ल्याएका कारण सुत्केरी महिलाको मृत्यु भएको उनको भनाइ छ। 

‘सुत्केरी बेथाले च्यापेको लामो समयसम्म घरमै राख्ने र अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्थामा ल्याएकालाई बचाउन नसकिएको हो,’ उनले भने। 
पछिल्लो समय नवजात शिशु मृत्युदर पनि घटेको छ। आर्थिक वर्ष ०७७–७८ मा सातजना नवजात शिशुको मृत्यु भएकोमा आव ०७८–७९ मा दुईजना नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए। ‘गर्भवती महिला खोज पड्ताल अभियानसँगै स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमले नवजात शिशु तथा मातृ मृत्युदर घटाउन सहयोग गरेको छ,’ साहले भने। 

गर्भवती महिलाले सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउने र आइरन चक्की खाने महिलाको संख्या पनि बढेको छ। एक वर्षमा आठ सय ६१ गर्भवती महिलाले तोकेको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका छन्। 

नियमित गर्भ जाँच गराउने २० वर्षभन्दा माथिका महिला हुन्। २० वर्षमुनिका १० जना गर्भवती महिलाले पनि गर्भ जाँच गराएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए।

गाउँपालिकाले पाँच वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवासमेत दिँदै आएको छ। गाउँपालिकामा सञ्चालनमा रहेका दुई एम्बुलेन्समध्ये एउटालाई बालबालिका, गर्भवती र सुत्केरी महिलाका लागि छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। 

उनले मातृ–शिशु मृत्युदर घटाउन विशेष व्यवस्था गरिएको बताए। ‘पालिकाभित्रका ६ वटै स्वास्थ्य संस्थामा २४सै घण्टा सुत्केरी सेवा सञ्चालनमा छ। पालिकामा सम्भव नहुने केसलाई तत्कालै नेपालगन्ज लैजान व्यवस्था मिलाइएको छ,’ उनले भने।

गाउँपालिकाले नियमित खोप सेवालाई पनि प्रभावकारी बनाएको छ। सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याएपछि पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख सैयद इस्तियाक अहमद साहले बताए। उनले गाउँपालिकालाई खोप सुनिश्चितता घोषणासमेत गरिसकेको बताए।  

गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे, डिजिटल एक्स–रे, ल्याब सेवा दिँदै आएको छ। त्यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमर्जेन्सी सेवा र आँखा जाँच सेवा दिँदै आएको छ। 
एकजना नेत्र विशेषज्ञ र एकजना नेत्र सहायकले आँखा जाँच सेवा दिँदै आएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए। ‘बालबालिकालाई कुपोषणबाट जोगाउन स्वास्थ्य चौकी कालाफाँटा र गंगापुरमा कुपोषण उपचार सेवा सञ्चालनमा ल्याएका छौँ,’ गाउँपालिका प्रमुख शाहले भने। गत आव ०७८–७९ मा ३९ जना कुपोषित बालबालिकाको उपचार गरिएको गाउँपालिकाले जनाएको छ।  
 

सुझावित समाचार