कर्मचारी निष्कासन गर्नेमा टेस्लादेखि नेटफ्लिक्ससम्म, दीर्घकालीन वृद्धि प्रभावित प्रमुख कारण
जुनसुकै क्षेत्रका कम्पनी वा संस्थामा कर्मचारी (स्टाफ) आउने–जाने सिलसिला चलिरहन्छ । कतिपय कम्पनी/संस्था चल्न सक्दैनन्, बन्द हुन्छन् र कर्मचारी बाहिरिन्छन् । कतिपय कम्पनी/संस्थामा व्यवस्थापनदेखि अनेक पक्षमा चित्त नबुझ्दा कर्मचारी बाहिरिइरहेका हुन्छन् । तर, केही यस्ता कम्पनी/संस्था हुन्छन् जसले कर्मचारीलाई आफैँ निकाल्छन् ।
बेटर डटकम : गत वर्ष भारतीय मूलका अमेरिकी सिइओ विशाल गर्गले नौ सयजना कर्मचारीको जागिर खाइदिए, त्यो पनि एउटा जुम कलबाट । घरका लागि ऋण दिने गर्गको डिजिटल कम्पनी बेटर डटकमले बजारको कार्यक्षमता, प्रदर्शन र उत्पादनको कारण देखाएर आफ्ना कर्मचारी निष्कासन गरेका थिए । पूर्वसूचनाविनै एकैपटक यति धेरै कर्मचारीलाई निष्कासित गरेपछि उनी सर्वत्र आलोचनाका पात्र बने । आलोचनाले सामाजिक सञ्जाल उथलपुथल भएपछि उनले माफीसमेत माग्नुपर्यो ।
सन् २०१३ मा गर्गले आफ्नी पत्नीसँग मिलेर बेटर डटकमको सुरुवात गरेका थिए । उनको कम्पनीले घर किन्न डिजिटल लोन दिन्थ्यो । तर, कोभिडपछि व्यापार प्रभावित भएपछि उनले सोचेजस्तो प्रगति गर्न सकेनन् । वित्तीय अवस्था पनि साँघुरिँदै गयो । फलतः उनले ठूलो मात्रामा कर्मचारी कटौती गर्नुपर्यो ।
विप्रो : प्रविधि क्षेत्र (टेक सेक्टर)को दिग्गज कम्पनी मानिन्छ, विप्रो । यही विप्रोले आफ्नो कम्पनीमा कार्यरत तीन सय कर्मचारीलाई निकालेको छ । त्यहाँ कार्यरत कर्मचारीले प्रतिस्पर्धी कम्पनीका लागि पनि काम गरिरहेको (मुनलाइटिङ) भेटेकाले एक्सन लिन बाध्य भएको कम्पनीको दाबी छ । विप्रोका कार्यकारी अध्यक्ष रिसद प्रेमजीले एकाएक तीन सयजना कर्मचारीलाई छुट्टी दिने घोषणा गरे ।
आफ्नो कम्पनीमा बसेर अरू कम्पनीका लागि पनि काम गर्दै गरेको भेटेपछि यस्तो निर्णय लिए । ‘यो इमानदारीको उल्लंघन हो,’ उनको भनाइ थियो । रिसदको यो निर्णयबारे चौतर्फी आलोचना भइरहेको छ । तर, उनी आफ्नो विचारमा अडिग छन् । उनै रिसदले ‘मुनलाइटिङ’को मुद्दा उठाएका थिए । यद्यपि, भारतमा विप्रो, इन्फोसिसजस्ता ठूला कम्पनी मुनलाइटिङको विरोधमा छन् ।
धेरैजसो कम्पनीले कर्मचारी कटौतीको घोषणा गरिसकेका छन् भने कतिपय घोषणा गर्ने अवस्थामा छन् । बेस्ट बाई, फोर्ड मोटर, एचबिओ म्याक्स, पेलेटन, सोफिई, रि–म्याक्स, वालमार्ट तथा वेफेयरजस्ता कम्पनीले कर्मचारी कटौतीको घोषणा गरिसकेका छन् ।
लोकप्रिय सामाजिक सञ्जाल ट्विटर खरिद सम्झौताले यसका केही कर्मचारी पहिल्यै बाहिरिइसकेका छन् । विश्वकै धनी व्यक्ति तथा टेस्लाका सिइओ एलन मस्कले ट्विटर खरिद प्राप्तिको डिल भएसँगै कम्पनीले ३० प्रतिशत कर्मचारीलाई छुट्टी दिएको छ ।
टेस्ला : टेस्लाका लागि समय त्यति राम्रो छैन । त्यसै पनि टेस्ला सेमी अटोनोमस भेहिकलको लिंक क्र्याक गरेको विषयमा संघीय अनुसन्धानमा छ । यसका बाबजुद पनि दुई सयदेखि तीन सय अटोपाइलट कर्मचारीलाई निष्कासन गर्ने घोषणा गरेको छ । टेस्लाका सिइओ एलन मस्कका अनुसार कम्पनीको दीर्घकालीन वृद्धि प्रभावित भएको छ । साथै, टेस्टाले सन माटेओ र क्यालिफोर्नियाको अफिससमेत बन्द गर्ने तयारीमा छ ।
टिकटक : अहिलेको लोकप्रिय सामाजिक सञ्जाल हो, टिकटक । एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको टिकटक छोटो समयभित्र प्रतिस्पर्धी सामाजिक सञ्जालका रूपमा उदाइरहेको छ । यही टिकटकले अमेरिकास्थित कार्यालयबाट कर्मचारी निष्कासन गर्न थालेको छ । यद्यपि, कति निष्कासन गर्दै छ भन्ने यकिन नभएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
नेटफ्लिक्स : नेटफ्लिक्सबारे जानकारी नहुने मान्छे कमै होलान् । टेलिभिजनका विभिन्न आयामलाई एउटै प्लेटफर्ममा नेटफ्लिक्सले नै ल्याएको थियो । यही कम्पनीले गत मे महिनामा १५० जना कर्मचारी कटौती गर्यो । त्यसपछि उसका नराम्रा दिन सुरु भए । १५० कर्मचारी कटौती गरेको अर्को महिनापछि पुनः ३०० कर्मचारी कटौती गर्यो, जुन कम्पनीका कुल कर्मचारीमध्ये चार प्रतिशत हो ।
ट्विटर : लोकप्रिय सामाजिक सञ्जाल ट्विटर खरिद सम्झौताले यसका केही कर्मचारी पहिल्यै बाहिरिइसकेका छन् । विश्वकै धनी व्यक्ति तथा टेस्लाका सिइओ एलन मस्कले ट्विटर खरिद प्राप्तिको डिल भएसँगै कम्पनीले ३० प्रतिशत कर्मचारीलाई छुट्टी दिएको थियो । मस्कले ट्विटर किनेपछि पहिलो दिनमै उनले सिइओ पराग अग्रवालसहित अन्य चार जनालाई निलम्बन गरेका छन् ।
सोपिफाई : सोपिफाई विश्वको लिडिङ अनलाइन रिटेलर हो । कम्पनीका सिइओ टोबी लुत्केले गत जुलाईमा १० प्रतिशत अर्थात् एक हजार कर्मचारी कटौती गर्ने घोषणा गरे । यसको कारण कोभिडपछि बढ्न नसकेको बजार बताइएको छ ।
रोबिनहुड : प्रजातान्त्रिक अर्थतन्त्र भनेर व्याख्या गर्ने रोबिनहुड एप्सले गत अप्रिल महिनामा २३ प्रतिशत कर्मचारी निष्कासन गर्ने घोषणा गर्यो । यसअघि उसले सन् २०२० र २०२१ मा नौ प्रतिशत कटौती गरेको थियो ।
साउन्ड क्लाउड : म्युजिक स्ट्रिमिङले खासै कर्मचारी कटौती गरेको थिएन । केही समयअघि कम्पनीका सिइओ माइकल विसमनले आफ्ना स्टाफलाई इमेल गर्दै कटौतीबारे सूचना दिए । उनको सूचनाले २० प्रतिशत कर्मचारी छुट्टीमा बस्नुपर्यो । कम्पनी महत्वपूर्ण रूपान्तरणमा जान लागेकाले यसो गर्नुपरेको थियो ।
कर्मचारी कटौती गर्ने अन्य कम्पनी : माथि उल्लिखितबाहेक अन्य थुप्रै कम्पनीले कर्मचारी कटौती गरेका छन् । जसमा स्न्याप विलले कुल कर्मचारीको २० प्रतिशत, पेट्रोनले १७ प्रतिशत, आई–रोबटले १० प्रतिशत कर्मचारी निष्कासन गरिसकेका छन् । त्यसबाहेक कामिओ, वन्ली फ्यान्स, भिमेओ, क्वाइनबेस, लिफ्टलगायतका कम्पनीले पनि भारी मात्रामा कर्मचारी कटौती गरेका छन् ।