आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिएको छ। घोषणापत्रमा सिँचाइ र मल उपलब्ध गराउने प्रतिबद्धतासहित उम्मेदवारहरू मत माग्न घरदैलो र खेतबारीमा नै पुगिरहेका छन्।
तर, किसानलाई मलको चिन्ता भने उस्तै छ। कृषिकर्म गरेर जीवन गुजार्ने चितवनका किसान अहिले धान भित्र्याउने तयारीमा छन्। कोही गहुँ, तोरी, आलु र घाँस खेतीको लागि खनजोत गरिरहेका छन्। धान खेतीको लागि आवश्यक मल हाल्न नपाएका उनीहरू आउँदो खेतीका लागि पनि मल अभाव हुने त्रासमा छन्।
शनिबार भरतपुर १३ मा रहेको पाखुरीचोक कृषि सहकारी संस्थामा ३ सय बढी किसान नागरिकता लिएर मलको लाइनमा थिए।

परम्परागत रूपमै खेतीपाती गरेर परिवार पाल्दै आएका यस क्षेत्रका किसानलाई सहज रूपमा मल, बिउको वितरण गर्ने उद्देश्यले दुई वर्षअघि यो सहकारी स्थापना भए पनि किसानलाई आवश्यकताअनुसारको मल बिउ वितरण गर्न नसकेको संस्थाका अध्यक्ष प्रकाशचन्द्र न्यौपाने बताउँछन्।
किसानका समस्या वर्षौँदेखि ज्युँकात्युँ छन् उनले भने, ‘भदौपछि बल्ल सहकारीमा मल आयो। ३० बोरा युरिया र २० बोरा डिएपी मल सहकारीमा आएपछि एक किसानलाई १० किलोका दरले मल दियौँ। डिएपी लानेले युरिया र युरिया लानेले डिएपी पाउँदैनन्, नागरिकता हेरेर हामीले १० केजी मात्र मल सीमित किसानलाई वितरण गर्न सक्यौँ।’ उनका अनुसार यस सहकारीमा ३ सय ७६ किसान आबद्ध छन्।
पशुपति ओझा तोरी, गहुँ, घाँसको लागि मल एक बोरा मल आवश्यक थियो तर उनी १० केजी मलमा चित्त बुझाउन बाध्य भए। ०७४ को चुनावमाको वाचा बिर्सिएका नेतहरूले कृषिप्रधान देशमा किसानको आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेको आरोप उनको छ।
हरिप्रसाद तिमल्सिना आफ्नो १० कठ्ठा मात्र जमिन छ। उनी अरूको डेढ बिघा जमिनमा खेती गर्छन्। उनको परिवारको मुख्य आम्दानीको स्रोत यही हो। नेताहरूले कृषिप्रधान देश भनेर पनि किसानको हितमा काम नगरेको आक्रोश पोख्दै उनले भने, ‘१० केजी मल एक बिघा जमिनमा कसरी हाल्ने?'