एक सय १६ रनको लक्ष्य पछ्याएको गण्डकी ३०औँ ओभरमा एक सय १५ रनमा अलआउट
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल रोमाञ्चक रूपमा ‘टाई’ भएको छ । मूलपानी क्रिकेट मैदानमा मौसम ढकालले गण्डकीविरुद्ध मेडन विकेट लिएपछि एपिएफ सम्भावित हारबाट जोगियो । चालू प्रतियोगितामा यो पहिलो टाई नतिजा हो । पहिलो ब्याटिङ गरेको एपिएफले ३५.१ ओभरमा एक सय १५ रन मात्र बनाएको थियो ।
खराब मौसमका कारण खेल ४३ ओभरमा छोट्याइएको थियो । प्रत्युत्तरमा गण्डकीले ३१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रन जोड्यो । गण्डकीलाई जितका लागि १२ ओभरमा पाँच रन चाहिएको थियो । लक्ष्य पछ्याएको इनिङ्सको ३०औँ ओभरमा ढकालले बलिङ गरेका थिए । उनले इनिङ्सको ३१.६ ओभरमा गण्डकीका दसौँ नम्बरका कमल परियारलाई बोल्ड गरेसँगै एपिएफले प्रतियोगितामा अपराजित यात्रा राख्न सफल भयो ।
रोमाञ्चक ३०औँ ओभर
३०औँ ओभरमा क्रिजमा कमल परियार थिए । उनले नै स्ट्राइक लिए । तर, उनले ढकालले बलिङ गरेको ओभरमा एक रन पनि लिन सकेनन् । ३०.३ ओभरमा बाईका रूपमा चार बाई रन दिएका थिए । यस अवस्थामा गण्डकीलाई जितका लागि एक रन मात्र चाहिएको थियो । ढकालले बाई चार रन दिँदा खेल टाई भइसकेको थियो । इनिङ्सको ३०.४ र ३०.५ बलमा कमलले रन बटुल्न सकेनन् । ३०.६ ओभरमा ढकालले कमललाई क्लिन बोल्ड गर्दैै एपिएफलाई एक अंक दिलाए । कमलले खेलमा नौ ओभर बलिङ गरी ३६ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । कमलले २५ बलमा ११ रन जोडे । खेलसँगै एपिएफ समूह ‘ए’बाट तीन खेलमा पाँच अंक जोड्दै शीर्षस्थानमा रहेको छ । समान अंकसहित नेट रनरेटमा गण्डकी दोस्रो स्थानमा छ । दुवै टोलीले सेमिफाइनल सम्भावना बलियो बनाएका छन् ।
एपिएफको कसिलो बलिङ
एपिएफका बलरले कसिलो बलिङ गरेपछि मध्यम लक्ष्य पनि गण्डकीले पछ्याउन सकेन । गण्डकीका कुनै पनि खेलाडीले गतिलो रन र साझेदारी भूमिका निर्वाह गर्न सकेनन् । गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रन बनाए । अर्जुन कुमाल र कप्तान विपिन खत्रीले समान १७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान दोहोरो रनविहीन भए । एपिएफका किशोर महतोले चार विकेट लिए । यसअघि ब्याटिङ गरेको एपिएफका भुवन कार्कीले सर्वाधिक २४ रन बनाएका थिए ।