मतदाता लोभ्याउन ‘मन्त्री–मुख्यमन्त्रीका कार्ड’

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेस, एमाले र माओवादी आ–आफ्नो पार्टीको नेतृत्वलाई भावी प्रधानमन्त्रीका रूपमा दाबी मात्रै गरिरहेका छैनन्, मतदाता लोभ्याउन अमुक क्षेत्रका उम्मेदवारलाई भावी मन्त्री–मुख्यमन्त्री बनाउनेसम्मका घोषणा गरिरहेका छन्, विश्लेषकहरू भन्छन्– यो मतदाता रिझाउने कुटिल चाल हो

दल र तिनका शीर्ष नेताहरूले अमुक उम्मेदवारका लागि भोट माग्न मतदातासँग ‘तपाईं जिताउनुस्, मन्त्री–प्रधानमन्त्री बनाउँछौँ/बन्छु’ भन्दै आश्वासन बाँडिरहेका छन् । औपचारिक रूपमा प्रचारप्रसारको समयावधि बिहीबारदेखि मात्रै सुरु भएकाले यो क्रम अझै बढ्ने निश्चित छ । राजनीतिक विश्लेषकहरू भने चुनावका वेला बाँड्ने यस्ता आश्वासनलाई सम्बन्धित उम्मेदवारको ओजन र आकर्षण बढाउन शीर्ष नेताहरूले चाल्ने कुटिल चाल भन्छन् ।

१ कात्तिकमा ललितपुरमा आयोजित सत्तागठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर २ बाट एकीकिृत समाजवादीका प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णलाल महर्जनलाई भावी सरकारमा प्रधानमन्त्री बनाउने घोषणा गरे । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि उपस्थित थिए । माधव र प्रचण्डले बोलिसकेपछि मञ्चमा उभिएका देउवाले सुरुमा ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशमशेर राणा र ललितपुर ३ की माओवादी उम्मेदवार पम्फा भुसालको प्रशंसा गरे । त्यसपछि महर्जनको प्रसंग निकाल्दै भने, ‘उहाँले मन्त्री बनाउनका लागि मलाई भन्या–भन्यै हुनुहुन्थ्यो, तर यसपटक भाग पुर्‍याउन सकिएन । अब चाहिँ मन्त्री बनाउँछु ।’ त्यसअघि ३० असोजमा काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा सत्तागठबन्धनबाट काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीलाई ‘जिताएर पठाए विकासे मन्त्री बनाउने’ माओवादी अध्यक्ष प्रचण्डको भनाइमा पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ‘होमा हो’ मिलाउँदै घर्तीको प्रशंसा गरे । उता बुधबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने घोषणा गरे ।

११ कात्तिकमा एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्न झापा ३ पुगेका एमाले अध्यक्ष केपी ओलीले मतदातालाई लोभ्याउँदै आगामी सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मन्त्री बनाउने घोषणा गरे । उनको भनाइ थियो, ‘आउने निर्वाचनबाट एमालेको बहुमत आयो–आयो र एमालेको साथमा जसपा, राप्रपासमेतको सरकार बन्छ । बहुमत आयो भनेर एक्लै एमालेले सरकार बनाउने होइन । अरू सहयोगी र सहयात्रीहरूलाई पनि साथ लिएर सरकार बनाउँछ । सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोइ भनेर तपाईंहरूले हिसाबकिताब माग्नुस् । अहिलेचाहिँ भोट हाल्नुस्, जिताएर पठाउनुस् ।’ उनले एमालेको सरकारमा लिङ्देन मन्त्री हुने संकेत मात्रै गरेनन्, एमालेसँग सहकार्य गरेका कारण राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी पनि गरे । एमालेले समानुपातिक सूचीको २ नम्बरमा नाम राखेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि ओलीले भावी मन्त्रीको आशयसहितको आश्वासन दिए । उम्मेदवारहरूसँग केही दिनअघिको अभिमुखीकरण कार्यक्रममा ओलीले भनेका छन्, ‘अघिल्लो निर्वाचनमा पनि उहाँको पार्टीले एमालेलाई निःशुल्क समर्थन गरेको थियो । उहाँको समर्थन र भोटसमेत मिसिएर हामीले सरकार बनायौँ, तर उहाँलाई गुन लाउन पाउन पाएको छैन । जे होस्, यसपटक उहाँ आउनुहुन्छ । मैले आशा र विश्वास लिएको छु ।’ ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

शुक्रबार गोरखामा सत्तागठबन्धनको भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘सुरेन्द्र पाण्डेजी यहाँबाट जितेपछि खालि प्रदेश सभाको सदस्य मात्रै हुने होइन, गण्डकीको मुख्यमन्त्री बन्ने सम्भावना छ । हाम्रो युवा नेता फणीन्द्र देवकोटा एउटा युवा नेताका रूपमा प्रदेशको मन्त्री हुने सम्भावना पनि त्यत्तिकै छ । र, मैले यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ । यसर्थ तपाईंहरूले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबार र प्रदेश दुवैतिर बलियो हुन्छ र गोरखाको विकास निर्माण र समृद्धिको यात्रा तीव्र गतिमा अगाडि बढ्छ ।’ ३० असोजमा काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा प्रचण्डले काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीमगरलाई देखाउँदै भने, ‘उहाँलाई जिताएर पठाउनुस्, राम्रो एउटा विकासे मन्त्री बनाएर पठाउनेछु ।’ त्यही कार्यक्रममा उपस्थित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरे ।

११ कात्तिकमा गोरखामै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि भने, ‘अन्यथा नमान्नुहोला, प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्र पाण्डे भोलिको मुख्यमन्त्री हो । यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि विकासका सपना कसरी पूरा नहोलान् र ?’

मतदातामाझ उनको दाबी थियो, ‘भविष्यमा प्रधानमन्त्री र मुख्यमन्त्री दुवै यही निर्वाचन क्षेत्रले पाउँदै छ । यो खुसीको कुरा हो ।’ प्रचण्डको उम्मेदवारीमा प्रस्तावक रहेका भट्टराई गत शनिबारदेखि नै गोरखामा प्रचण्डलगायत सत्तागठबन्धनका उम्मेदवारसँगै प्रचारप्रसारमा छन् । ०७४ को निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन नयाँ शक्तिबाट निर्वाचित उनले यसपटक प्रचण्डलाई छाडेर आफूले चुनाव नलड्ने निर्णय गरेका थिए ।

राजनीतिक विश्लेषकहरू भने नेताहरूका यस्ता प्रतिवद्धता वा घोषणालाई ‘जनता फकाउने’ अस्त्र मान्छन् । ‘०४८ देखि संसदीय अभ्यास सुरु भइसकेपछि लोकप्रिय नाराहरू उचाल्ने र त्यसका आधारमा जनताको उत्तेजना र आवेगलाई पुँजीकृत गर्ने एक प्रकारको राजनीतिक होड चल्यो । त्यो अहिलेसम्म कायमै छ,’ विश्लेषक चन्द्रकिशोरले भने, ‘झन् यसपटक व्यक्तिकेन्द्रित चुनाव हुँदै छ । दलहरू चुनाव लडे पनि व्यक्तिविशेषको प्रभाव बढी छ । त्यसैले जनतामा उनीहरूको ओजन र आकर्षण बढाइदिन शीर्ष नेताहरूले मन्त्री बनाइदिन्छु भन्ने आश्वासन बाँडिरहेका छन् । यो मतदाता रिझाउने फन्डा मात्रै हो । भोलि आफ्नो क्षेत्रको उम्मेदवार प्रधानमन्त्री या मन्त्री बनेपछि बजेट धेरै पार्ने, विकास हुने लोभले मतदाता यस्तो फन्डाको फन्दामा पर्न सक्छन् ।’ 

चकलेट देखाएर बच्चा फकाएजस्तै हो  : पुरञ्जन आचार्य, विश्लेषक

शीर्ष नेताहरू हार्ने डरले सामन्ती संरचनाको मनोविज्ञानबाट ग्रसित भएर मतदातामाझ प्रधानमन्त्री, मन्त्री बन्ने–बनाइदिने आश्वासन बाँड्छन् । अहिले त मतदातालाई पनि आफ्नो उम्मेदवार प्रधानमन्त्री, मन्त्री बन्छ कि बन्दैन भन्ने जिज्ञासा हुन थाल्यो । उनीहरूमा यो मनोविज्ञानको विकास पनि राजनीतिक दल र तिनका नेताहरूले नै गरेका हुन् । अहिले त्यही मनोविज्ञानमाथि उनीहरूले जित्न खोजिरहेका छन् । यो भनेको चकलेट देखाएर बच्चा फकाएजस्तै गरेको हो । मतदाताले यसलाई बुझ्न सक्नुपर्छ ।

अर्का विश्लेषक पुरञ्जन आचार्य शीर्ष नेताहरूले उम्मेदवारलाई भावी प्रधानमन्त्री, मन्त्रीको रूपमा पेस गरेर भोट माग्नु चकलेट देखाएर बच्चा फकाएजस्तै भएको टिप्पणी गर्छन् । ‘शीर्ष नेताहरू हार्ने डरले सामन्ती संरचनाको मनोविज्ञानबाट ग्रसित भएर मतदातामाझ प्रधानमन्त्री, मन्त्री बन्ने–बनाइदिने आश्वासन बाँड्छन् । अहिले त मतदातालाई पनि आफ्नो उम्मेदवार प्रधानमन्त्री, मन्त्री बन्छ कि बन्दैन भन्ने जिज्ञासा हुन थाल्यो । उनीहरूमा यो मनोविज्ञानको विकास पनि राजनीतिक दल र तिनका नेताहरूले नै गरेका हुन् । अहिले त्यही मनोविज्ञानमाथि उनीहरूले जित्न खोजिरहेका छन्,’ आचार्यको विश्लेषण छ, ‘यो भनेको चकलेट देखाएर बच्चा फकाएजस्तै हो । मतदाताले यसलाई बुझ्न सक्नुपर्छ ।’

व्यक्तिविशेषको लोकप्रियता र शक्तिलाई मध्यनजर गर्दै एमाले र माओवादीले आसन्न चुनावपछि आ–आफ्ना अध्यक्षलाई प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका छन् । त्यसैले एमालेबाट अध्यक्ष केपी ओली र माओवादीबाट अध्यक्ष प्रचण्डले मतदातालाई आफू प्रतिनिधिसभाको मात्रै होइन, प्रधानमन्त्रीकै उम्मेदवार हो भन्ने बुझाइरहेका छन् । कांग्रेसले भने अहिलेसम्म खुलेर प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरेको छैन । त्यसैले कांग्रेसभित्र आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याउने नेताहरू धेरै छन् । 

१८ भदौमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको दाबी गरे । देशको आवश्यकता भन्दै उनले त्यहाँ आफ्नो अन्तिम इच्छा मात्रै जाहेर गरेनन्, त्यसपछि निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा मतदाता रिझाउन त्यही ‘कार्ड’ फालिरहेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले त मिडिया अन्तर्वार्तामै निर्वाचनपछि आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताइसकेका छन् । अहिले मतदाताको घरदैलोमा पनि उनी यो दाबी निरन्तर पस्किरहेकै छन् । कांग्रेस संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । थापाले संसदीय दलको नेता बन्नका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् । एक टेलिभिजन कार्यक्रममा उनले आफू प्रधानमन्त्रीका लागि योग्य भएको बताएका थिए । ‘कहाँ सोच्ने मात्र ? यसपालि त प्रयास गर्ने हो । सकिन्छ, सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु । यसअघि प्रधानमन्त्री भइसकेका नेताहरूले अब फेरि प्रधानमन्त्री भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन,’ उनको यो अभिव्यक्तिको अहिलेसम्म राजनीतिक वृत्तमा चर्चा छ । गगनको यो सार्वजनिक घोषणाले देउवालाई समेत चुनौती थपेको टीका–टिप्पणी कांग्रेसवृत्तमा छ । अर्का  महामन्त्री विश्वप्रकाश शर्माले पनि थापा प्रधानमन्त्रीको उम्मेदवार बने आफ्नो समर्थन रहने सार्वजनिक घोषणा गरिसकेका छन् । 

गगनको घोषणापछि २ कात्तिकमा नेता प्रकाशमान सिंहले पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा दाबी गरेका छन् । काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उनले आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताइरहेका छन् । ‘आगामी निर्वाचनमा जित हात पार्ने मेरो पहिलो लक्ष्य रहेको र कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन हरकिसिमबाट योग्य छु । म देशको उपप्रधानमन्त्री बनिसकेको छु र अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन सक्षम छु,’ उनले भनेका छन् । 

पहिले पनि बाँडिएका थिए आश्वासन

०७४ को निर्वाचनमा पनि दलका नेताहरूले आश्वासन बाँडेका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वरीयता मिचेर आफूलाई आइजिपी हुनबाट रोकेको भन्दै डिआइजीबाटै राजीनामा दिएका नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट उम्मेदवार बनायो । तर, सिलवाललाई उम्मेदवार बनाउनुअघि नै अध्यक्ष ओलीले गृहमन्त्री बनाउने घोषणा गरेका थिए । ३० भदौ ०७४ मा उनले सार्वजनिक रूपमै भनेका थिए, ‘सरकारले नवराज सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन चलखेल गर्‍यो । यस्तो सिस्टम सुधार्न अब तपाईं गृहमन्त्री बन्नुपर्छ, त्यसका लागि समय कुरौँ ।’ नभन्दै ओलीले उनलाई उम्मेदवार बनाएर मतदातामाझ भावी गृहमन्त्रीकै रूपमा प्रस्तुत गरे । सिलवालले निर्वाचन पनि जिते, तर झन्डै साढे तीन वर्षसम्म सरकार हाँक्दा ओलीले उनलाई गृहमन्त्री त के राज्यमन्त्रीसम्म बनाएनन् । 

त्यसो त ०७४ को निर्वाचनमा माओवादीसँग मिलेर वाम गठबन्धन गरेका ओलीले थुप्रै नेताको हकमा चुनावअघि नै मन्त्री पद बाँडेका थिए । केहीले त्यो अवसर पनि पाए । १९ कात्तिक ०७४ मा युवा नेता योगेश भट्टराईका लागि मत माग्न ताप्लेजुङ पुगेका ओलीले त्यहाँ खुलमखुला भनेका थिए, ‘योगेशलाई जिताएर पठाउनुस्, म मन्त्रीको बिल्ला भिराएर फर्काउँछु । अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको हो । यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मस्तिष्क, युवा काँध र युवा हातले ताप्लेजुङ बनाउँदैन होला र ? तपाईंहरू ढुक्क हुनुहोस्, माथि म छु, योगेश यहाँ छ ।’ तर, तेस्रोपटकको मन्त्रिपरिषद् विस्तार हुँदासम्म भट्टराईलाई मन्त्री नबनाएका ओलीले १५ फागुन ०७५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सोही रिक्त ठाउँमा मन्त्री नियुक्त गरे । 

०७४ कै निर्वाचनताका १७ मंसिरमा भगवती चौधरीका लागि भोट माग्न सुनसरी पुगेका थिए ओली । त्यहाँ वाम गठबन्धनको तर्फबाट सुनसरी ३ की उम्मेदवार थिइन् चौधरी । चौधरीको प्रतिस्पर्धामा कांग्रेस नेता विजयकुमार गच्छदार थिए । सुनसरीको दुहबीमा आयोजना भएको चुनावी जनसभालाई सम्बोधन गर्दै त्यतिवेला ओलीले भनेका थिए, ‘भगवती चौधरीले निष्ठा र इमानको राजनीति गर्नुभएको छ, उहाँलाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भो ।’ तर, चौधरीको हकमा भने ओलीलाई त्यो अवसर मिलेन । निर्वाचनमा चौधरी गच्छदारसँग पराजित भइन् । 

शीर्ष नेताहरूको मतदाता रिझाउने फन्डा मात्रै हो  : चन्द्रकिशोर, विश्लेषक
०४८ देखि संसदीय अभ्यास सुरु भएपछि लोकप्रिय नाराहरू उचाल्ने र त्यसका आधारमा जनताको उत्तेजना र आवेगलाई पुँजीकृत गर्ने एक प्रकारको राजनीतिक होड चल्यो । त्यो अहिलेसम्म कायमै छ ।

झन् यसपटक व्यक्तिकेन्द्रित चुनाव हुँदै छ । दलहरू चुनाव लडे पनि व्यक्तिविशेषको प्रभाव बढी छ । शीर्ष नेताहरूले व्यक्तिलाई देखाएर ‘यो गर्छन्, यो बन्छन्’ भन्दै निर्वाचनमा प्रचार गरेका छन्, उम्मेदवारलाई मन्त्री बनाइदिने आश्वासन बाँडिरहेका छन् ।

यो मतदाता रिझाउने फन्डा मात्रै हो । भोलि आफ्नो क्षेत्रको उम्मेदवार प्रधानमन्त्री या मन्त्री बनेपछि बजेट धेरै पार्ने, विकास हुने लोभले मतदाता यस्तो फन्डाको फन्दामा पर्न सक्छन् । विगतलाई हेर्दा पनि यस्ता नारा आश्वासनमै सीमित भएका छन्् । 

See More On

सुझावित समाचार