यस कारण \'सेफ जोन\'मा देखिन्छिन् विना

०७४ का चार प्रतिस्पर्धी एउटै माेर्चामा

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट मैदानमा होमिएकी विना मगरका पाँच प्रतिस्पर्धी छन्। 

अघिल्लो चुनावका एक सहकर्मी अहिले प्रतिस्पर्धी बनेका छन्। अघिल्लो निर्वाचनमा पूर्वमन्त्री मगरका पाँच प्रतिस्पर्धी नेता अहिले मगरकै साथमा छन्। 

०७४ मा सम्पन्न भएको निर्वाचन (एमाले-माओवादी) वाम–गठबन्धन हुँदा मगरसँगै कांग्रेसबाट दिवानसिंह विष्ट, राष्ट्रिय जनमोर्चाबाट लोकेन्द्रप्रसाद लम्साल, विवेकशील साझा पाटीबाट लक्ष्मीनारायण चौधरी, नयाँ शक्ति पार्टीबाट अमरसिंह विष्ट  र संघीय समाजवादी फोरम नेपालबाट मकरसिंह थापा प्रतिस्पर्धी थिए। उतिवेलाका चारै प्रतिस्पर्धी विष्टद्वय, लम्साल, चौधरी र थापा अहिले सहकर्मी भएका छन्।
 
उनीहरू पाँचैजना मगर जिताउन अहोरात्र खटिएका छन्। अधिल्लो निर्वाचनमा क्षेत्र १ बाट नौजना संघतर्फका उम्मेदवार थिए। जसमध्ये अहिले पाँचजना पूर्वमन्त्री मगरकै साथमा छन्।
 
०७४ का सहकर्मी क्षेत्र १ (क) बाट (एमाले–माओवादी) वाम गठबन्धन हुँदा प्रदेश सभाका उम्मेदवार तारालामा तामाङ मात्रै अहिले एमालेबाट प्रतिस्पर्धी बनेका छन्। 

०७० र ०७४ का प्रतिस्पर्धी कांग्रेस नेता अहिले मुख्य सहकर्मी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट विष्ट क्षेत्र १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार हुन्। मगरले विष्ट र विष्टले मगर जिताउन मतदातासँग भोट मागिरहेका छन्। 

क्षेत्र १(ख) (बेलौरी–बेलडाँडी)मा विष्टले प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री मगरका लागि र मगरले संविधानसभा सदस्य विष्टका लागि मत मागिरहेका छन्। 

अघिल्लो निर्वाचनमा जनमोर्चाबाट प्रतिस्पर्धी रहेका लोकेन्द्र लम्साल अहिले वाम–लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र १ का मूल निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन्। 

लम्सालले वाम–लोकतान्त्रिक गठबन्धन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगर प्रदेश सभा सदस्यका उम्मेदवारद्वय दिवानसिंह विष्ट र बन्धु राना जिताउन अहोरात्र खटिएका छन्।
 
‘उतिवेला हामी अलग–अलग पार्टीमा थियाैँ,’ लम्सालले भने, ‘अहिले हाम्रो पार्टी र माओवादीबीच एकीकरण भएर हामी सबै एकै पार्टीमा छौँ, मलाई क्षेत्रकै निर्वाचन परिचालन समितिको जिम्मेवारी पनि छ, त्यसैले अहिले म वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन चुनावमा अहोरात्र खटिएको छु।’ 

उतिवेला नयाँ शक्ति नेपालबाट क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह विष्ट अहिले नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन्।

उनले पार्टीको निर्देशनअनुरूप लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन आफू अहोरात्र खटिएको बताए। ‘उतिवेला उस्तै परिस्थिति थियो, हामी प्रतिस्पर्धी थियौँ,’ उनले भने, ‘अहिले पछिल्लो विकसित राजनीतिक परिस्थितिले सहकर्मी भई निर्वाचन जिताउन हिँडेका छौँ।’

विवेकशील साझा पार्टीबाट उतिवेला विनाका प्रतिस्पर्धी अहिले वाम–लोकतान्त्रिक गठबन्धन प्रदेश परिचालन समितिको सदस्यमा लक्ष्मीनारायण चौधरी र संघीय समाजवादी फोरम नेपालबाट मकरसिंह थापा उतिवेलाका प्रतिस्पर्धी अहिले वाम–लोकतान्त्रिक गठबन्धन क्षेत्रीय परिचालन समितिको सदस्यमा रहेर चुनावी मैदानमा होमिएका छन्। 

पूर्वमन्त्री मगरका उतिवेलाका पाँचै प्रतिस्पर्धी अहिले मगरसँगै रहेपछि उनी गठबन्धनकी बलियो उम्मेदवार हुन्। अघिल्लो निर्वाचनमा मगर दोब्बर मतले निर्वाजित भएकी थिइन्। 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कांग्रेस १८ हजार ६ सय ६३, एमाले १८ हजार पाँच सय ९९, माओवादी १५ हजार आठ सय ६१, समाजवादी तीन हजार चार सय ९८, राप्रपा दुई हजार एक सय र अन्यले चार हजार ६० मत पाएका थिए। स्थानीय तहको मतका आधारमा अहिले क्षेत्र १ मा गठबन्धन बलियो देखिएको छ। 

सुझावित समाचार