आई लिगमा किरणको चौथो सिजन

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण
आई लिगमा किरणको चौथो सिजन

राउन्डग्लास पन्जाब फुटबल क्लबले बिहीबार खेलाडी र जर्सी सार्वजनिक गर्दै, नेपालका किरण चेम्जोङ बायाँबाट दोस्रो ।

अर्को सातादेखि भारतीय आई लिगको २०२२–०२३ सिजन सुरु हुँदै छ । यो नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको चौथो सिजन हो । उनी राउन्डग्लास पन्जाब फुटबल क्लबसँग आबद्ध छन् । पन्जाबबाट लगातार दोस्रोपटक आई लिग खेल्न पाउँदा खुसी लागेको किरणले बताएका छन् । राउन्डग्लासले बिहीबार पत्रकार सम्मेलन गरी खेलाडी सार्वजनिक गरेको कार्यक्रममा किरणले यसपटक राम्रो नतिजा निकाल्ने बताएका छन् । 

नयाँ सिजनका लागि पन्जाबमा अनुबन्धित भएका किरणले आयोजित पत्रकार सम्मेलनमा राउन्डग्लास यसपटक बलियो रहेको जनाएका छन् । ‘भारतमा यो मेरो चौथो सिजन हो, व्यक्तिगत रूपमा राउन्डग्लासबाट दोस्रोपटक खेल्दै छु,’ किरणले भने, ‘पछिल्लो सिजनमा नतिजा राम्रो थियो, तर हामीले उपाधि उचाल्न सकेनौँ ।’ किरणका अनुसार राउन्डग्लासले नयाँ सिजनका लागि राम्रो तयारी गरेको छ । ‘हामीले गत वर्षको गल्ती सच्याएर यसपटक राम्रो तयारी गरेका छौँ,’ उनले भने । होम एन्ड अवेअनुसार हुने लिगमा समर्थकको उपस्थितिले हौसला बढ्ने उनले बताए । ‘रंगशालामा समर्थकको उपस्थितिले हौसला मिल्नेछ,’ उनले भने । आई लिगमा किरणले उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारिसकेका छन् ।

सन् २०१७–०१८ को सिजनमा उनी आबद्ध मिनेर्भा पन्जाबले आई लिग जितेको थियो । यसैगरी, राउन्डग्लासका प्रशिक्षक स्टाइकोस भेर्गेतिसले टोलीको राम्रो तयारी रहेको बताएका छन् । ‘हाम्रो तयारी राम्रो छ, फरक खेलमा त्यहीअनुसार रणनीति हुनेछ,’ आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक स्टाइकोसले भने, ‘युवा र अनुभवी खेलाडीको सन्तुलनले टोली बलियो बनेको छ ।’ प्रशिक्षक स्टाइकोसले युवा खेलाडीसँग फुटबल खेल्दा रमाइलो र उत्साह प्रदान हुने बताए । यसैबीच, राउन्डग्लासले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । 

See More On

सुझावित समाचार