रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको बृहत् खुला कुस्ती प्रतियोगितामा भारतीय पहलमानहरूले उपाधिमा वर्चस्व जमाएका छन् । मधेससहित लुम्बिनी प्रदेशका पहलमानको सहभागिता रहेको प्रतियोगितामा भारतीय पहलमानहरूले सबैजसो व्यक्तिगत उपाधि हात पारे ।
रुपन्देहीको रोहिणी–३ स्थित धकधईमा भएको प्रतियोगितामा नयाँदिल्लीका विनोद पहलमान पहिलो भएका छन् । उनले फाइनलमा भारतकै पठानकोटका बब्बी पहलमानलाई हराउँदै च्याम्पियनसिप उपाधि जिते । भारत गोरखपुरका जितेन्द्र पहलमानले हरियाणाका भीम पहलमानलाई हराए । हरियाणाका मुन्ना पहलवान तेस्रो भए । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए ।
प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले चौथो स्थान हात पारे । प्रतियोगितामा पहिलो भएका खेलाडीले एक लाख एक हजार रुपैयाँ पाए । यसैगरी, दोस्रो स्थानका खेलाडीले ५० हजार पाँच सय र तेसो स्थानका खेलाडीले २५ हजार दुई सय रुपैयाँ जितेका छन् । तराई मधेसमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरेको आयोजकले जनाएको छ ।
आउँदो दिनमा नेपाली पहलमानले पनि पुरस्कार प्राप्त गर्ने अवस्था खेलले सिर्जना गर्ने लक्ष्य आयोजकको छ । प्रतियोगतामा नेपाल र भारतका गरी २० भन्दा बढी पहलमानहरूको सहभागिता रहेको थियो ।