माओवादी छाडेर एमालेमा पुगेका पूर्वमन्त्री गौरीशंकर चौधरी र माओवादी छाडेर नयाँ शक्ति हुँदै फेरि माओवादीमा प्रवेश गरेका कृष्ण चौधरी कुन्दनबीच ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको हो । १० वर्षे जनयुद्धमा सैन्य मोर्चामा रहेर काम गरेका गौरीशंकर शान्ति प्रक्रियतामा बटालियन कमान्डर थिए भने कुन्दन पार्टीको सेती–महाकाली राज्य समिति सदस्य थिए ।
सँगै युद्ध लडेका दुई माओवादी नेता कैलाली ३ मा प्रतिस्पर्धी बनेका छन् । माओवादी छाडेर एमालेमा पुगेका पूर्वमन्त्री गौरीशंकर चौधरी र माओवादी छाडेर नयाँ शक्ति हुँदै फेरि माओवादीमा प्रवेश गरेका कृष्ण चौधरी कुन्दनबीच ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको हो ।
दशवर्षे जनयुद्धमा सैन्य मोर्चामा रहेर काम गरेका गौरीशंकर शान्ति प्रक्रियाताका बटालियन कमान्डर थिए भने कुन्दन पार्टीको सेती–महाकाली राज्य समिति सदस्य थिए । दुवै एउटै जिल्ला कैलालीका बासिन्दा हुन् ।
०६४ को संविधानसभा निर्वाचनमा कुन्दनलाई कैलालीको तत्कालीन क्षेत्र नम्बर ४ बाट चुनाव जिताउन गौरीशंकर अग्र मोर्चामा खटिएका थिए । तर, अहिले दुई फरक कित्तामा उभिएका पूर्वमाओवादी नेताहरू प्रतिस्पर्धा गर्न चुनावी मैदानमा छन् ।
माओवादी नेता कुन्दन सत्तागठबन्धनबाट चुनाव लडिरहेका छन् भने गौरीशंकर एमालेबाट उम्मेदवार बनेका हुन् । ०७४ को चुनावमा कैलाली ३ बाट निर्वाचित गौरीशंकर सर्वाेच्च अदालतको आदेशसँगै एमाले र माओवादी ब्युँतिँदा एमालेतिर लागेका थिए । उनी केपी ओली नेतृत्वको सरकारका श्रममन्त्री पनि बने ।
०७२ मा संविधान जारी भएपछि बाबुराम भट्टराइसँगै माओवादी छोडेका कुन्दन हालै मात्र पुरानै घर माओवादीमा फर्केका हुन् । दुवैजना आआफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् ।
कुन्दनलाई माओवादीको विरासत जोगाउन चुनौती
कैलाली ३ माओवादीको प्रभाव क्षेत्र मानिन्छ । ०६४ मा माओवादीका वीरभान चौधरीले जितेको यो क्षेत्रमा ०७० मा तेस्रोमा झरेको थियो । रामजनमले आफ्नै पूर्वसहकर्मी कांग्रेसका नारायणदत्त मिश्रलाई हराएका थिए ।
०७० को चुनावमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरी विजयी भएका थिए । ०७० मा तत्कालीन कैलाली ४ बाट चुनाव जितेका गौरीशंकर निर्वाचन क्षेत्र हेरफेरसँगै ०७४ मा ३ बाट उम्मेदवार बने । र, ०७० को आफ्नो पार्टीको हारको बदला लिँदै कांग्रेसका रामजनमलाई नै हराए ।
गौरीशंकर २४ हजार आठ सय ७९ मतसहित विजयी हुँदा रामजनमले २० हजार चार सय ९४ मत पाएका थिए । ०७४ को चुनावमा फोरम कांग्रेसमा समाहित हुँदा रामजनम कैलाली ३ बाट उम्मेदवार बनेका थिए ।
तर, यसपटक रामजनम कैलाली १ बाट उम्मेदवार हुँदा कैलाली ३ माओवादीले पाएको छ । कैलाली ३ मा माओवादीको प्रतिस्पर्धी दल कांग्रेसको पनि साथ पाएपछि माओवादीलाई सहज भएको छ ।
गठबन्धनका उम्मेदवार बने पनि कुन्दनलाई समेत चुनाव जित्न त्यति सहज छैन । पार्टी दर्ताको एक वर्ष नपुग्दै दुई नगरपालिका र एक गाउँपालिकामा जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनका उम्मेदवार कुन्दनको मुख्य प्रतिस्पर्धी ठानिएको छ । कांग्रेसका पूर्वनेतासमेत रहेका गंगा चौधरी नागरिक उन्मुक्तिबाट कैलाली ३ मा उम्मेदवार छन् ।
३० वैशाखको स्थानीय तह निर्वाचनको नतिजाले पनि कुन्दनलाई गंगाले चुनौती दिने आकलन गरिएको छ । यस क्षेत्रका तीनवटा पालिकामध्ये माओवादीले कुनैमा पनि जित हासिल गरेको छैन ।
गठबन्धनमा सिट बाँडफाँड हुँदा माओवादीले भजनी नगरपालिका र कैलारी गाउँपालिका पाएको थियो भने घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीले उम्मेदवार दिएको थियो । तर, माओवादीले दुवै पालिका जोगाउन सकेन ।
भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी मेयर र राजु तिरुवा उपमेयरमा विजयी भए भने कैलारीमा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका बागी रामसमझ चौधरी विजयी भए । घोडाघोडीमा भने एकीकृत समाजवादीले जितेको थियो ।
यो निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले १९ हजार नाै सय ९२, माओवादीले ११ हजार सात सय १६ र एमालेले ११ हजार २३९ मत पाएका थिए । राप्रपाले ६ हजार ६९९, नागरिक उन्मुक्तिले ५ हजार २४७ र एकीकृत समाजवादीले २ हजार ३८ मत पाएका थिए ।
४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ३ मा १ लाख ७ हजार ६५९ मतदाता छन् भने ४५ मतदानस्थल र १२७ मतदान केन्द्र रहेका छन् । कैलाली–३ मा भजनी नगरपालिकाका वडा नम्बर १,२,३,४,५,७ र ९, घोडाघोडी नगरपालिकाका १२ वटै, कैलारी गाउँपालिकाका वडा नम्बर १,२,३,४,५,७ र ८ वडा पर्छन् ।
प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएको छु
गौरीशंकर चौधरी
एमाले उम्मेदवार
कुन्दनजीसँग विगतमा एउटै पार्टीमा काम गरेँ । अहिले फरक भूमिकामा प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएको छु । विगतमा मन्त्री र सांसद हुँदा निर्वाचन क्षेत्रमा गरेका कामले जनताले मलाई विजयी गराउने विश्वास छ । तीन दलको गठबन्धन भए पनि जनताले यो क्षेत्रको विकासका लागि मैलेखेलेको भूमिकाको मूल्यांकन गर्ने नै छन् । एमालेको बलियो संगठन हुनु पनि मेरो जितकोे आधार रहनेछ । म कृषिमन्त्री हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम यहीँ क्षेत्रबाट सुरुवात गरेको थिएँ । यहाँको सडक, बाटोघाटो, पुलपुलेसा निर्माणमा मेरो भूमिका छ । कतिपय योजना अधुरा छन्, तिनलाई पूरा गर्न पनि जनताले मलाई निर्वाचित गराउने छन् भन्ने मैले विश्वास लिएको छु ।
गौरीशंकरजी सांसद र मन्त्री बन्नुभयो तर, विकासमा ध्यान दिनु भएन
कृष्णकुमार चौधरी कुन्दन
माओवादी उम्मेदवार
प्रतिस्पर्धी एमालेका उम्मेदवार गौरीशंकर चौधरीजी १० वर्षसम्म सांसद र मन्त्री हुनुभयो । तर, यहाँको विकासमा ध्यान दिन नसकेकाले असन्तुष्टि नागरिकमा छ । जनप्रतिनिधि र राजनीतिकर्मीका रूपमा यो क्षेत्रको विकासमा मैले खेलेको भूमिका, इमान्दार राजनीतिज्ञको रूपमा बनाएको छवि, पार्टीको संगठन र गठबन्धन चुनाव जित्ने आधार हो । यो क्षेत्रको विकासका लागि अघि सारेका एजेण्डा नै चुनाव जित्ने आधार हो । उम्मेदवारलाई लिएर हाम्रो पार्टी र गठबन्धनमा कुनै पनि समस्या छैन । गठबन्धनका सबै दल एक हुनुले पनि हाम्रो जित सहज छ । स्थानीय तहको चुनावको तथ्यांक हेर्ने हो भने हाम्रो प्रतिस्पर्धी नै कोही छैन । यो क्षेत्रका २६ मध्ये २० वटा वडामा गठबन्धनले जितेको छ । जसपाको एक वडाध्यक्षले पनि हामीलाई समर्थन गर्नुभएको छ । यसबाहेक यहाँको विकासमा मेरो पनि केही योगदान छ ।