कमर्सियल ‘ग्राउन्ड ह्यान्डलिङ’ अनुमति पाए हिमालयले भैरहवाबाटै अन्य देशमा पनि उडान गर्ने

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नियमनकारी निकायले ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने आश्वासन दिएपछि हिमालय एयरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तयार भएको छ।

हिमालयले बिहीबारदेखि भैरहवाबाट मलेसियाको क्वालालम्पुर उडान गर्न लागेको हो।  हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाएको छ। 

नेपाल र मलेसियाको नियामक निकाय तथा अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपछि १७ कात्तिकदेखि उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हिमालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवाको गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति दिने आश्वासन दिएको हिमालयका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले बताए। 

गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति पाए भैरहवाबाट अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने उनको भनाइ छ। 

‘हामी भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रूपमा लागिरहेका छौँ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘हिमालयको भैरहवाबाट हुने उडानले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने विश्वास छ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशकै साझा राष्ट्रिय गौरवको आयोजना भएकाले भोलिका दिनमा यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पुर्याउने हिमालयको अपेक्षा छ।

सुझावित समाचार