कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभामा फेरि पनि कांग्रेस नेता बहादुरसिंह थापा र नेकपा एकीकृत समाजवादीका नेता लालबहादुर खड्का प्रदेश सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट थापा र समाजवादीका तर्फबाट खड्का प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन्। उनीहरू यसअघि ०७४ मा सम्पन्न भएको निर्वाचनमा एक-अर्काका प्रतिस्पर्धी थिए।
अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा खड्का वामगठबन्धनका साझा उम्मेदवार थिए, अहिले थापा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएका छन्।
खड्काले ४ हजार ५३४ मतले थापालाई हराउँदै प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। खड्काले १६ हजार ३८५ र कांग्रेस नेता थापा एक्लैले ११ हजार ८५१ मत ल्याएका थिए। उतिवेला ४४ हजार ६८६ मतदाता रहेका थिए। अहिले ५० हजार ८८९ मतदाता रहेका छन्।
संविधानसभा सदस्य थापा र पूर्वसुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री खड्का पुनः चुनावी मैदानमा होमिएका हुन्। थापा र खड्कासँगै विभिन्न राजनीतिक दलका ९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
सोही निर्वाचन क्षेत्रमा एमालेबाट कृपाराम राना, राप्रपाबाट चक्रदेव जोशी, लोसपाबाट लक्ष्मीदेवी डगौरा, नेमकिपाबाट जितेन्द्रबहादुर चौधरी, विपी कांग्रेस नारायणदत्त बोहरा, नागरिक उन्मुक्ति पार्टीबाट जितेन्द्र चौधरी चुनावी मैदानमा होमिएका छन्।
निर्वाचन क्षेत्र २(ख) बेदकोट नगरका ९ वडा र शुक्लाफाँटा नगरका ७ वडा गरी १७ वडा छन्। उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा शुक्लाफाँटा नगरमा एमाले र बेदकोट नगरमा कांग्रेसले जितेको छ।
जम्मा १७ वडामध्ये कांग्रेस ९, एमाले ४, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीले १ वडा जितेको छ। स्थानीय तह निर्वाचनमा बेदकोट र शुक्लाफाँटा नगरमा माओवादी र समाजवादी कार्यकर्ता एकता हुँदा कतिपय वडाहरूमा माओवादी र समाजवादीका उम्मेदवार थिएनन्।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारले वडामा पाएको मतको आधारमा कांग्रेस १० हजार ८४५, एमाले ९ हजार ८२३, माओवादी केन्द्र ३ हजार ९३८, समाजवादी ३ हजार ७ सय ६०, राप्रपा २ हजार ६६६ र अन्य १ हजार ५८६ मत आएको थियो।
स्थानीय तहको मत परिमाणअनुरुप उक्त निर्वाचन क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।
माओवादी र कांग्रेसले पाएको मतभारअनुसार वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा बहुमत देखिएको छ। ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभा सदस्यमा निर्वाचित र ०७४ मा प्रदेश सभा सदस्य पराजित भएका बहादुरसिंह थापा पुनः ०७९ मा प्रदेश सभा सदस्यको यात्रामा छन्।
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार थापाले संविधानको रक्षा, व्यवस्थालाई संस्थागत गर्दै दिगो विकास र समृद्धिको एजेन्डा अघि सारेका छन्। ‘मैले यसअघि ०७०मा चुनाव जितेर ल्याएका भौतिक पूर्वाधारतर्फका केही बाँकी योजना अघि बढाउँछु, ‘वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाले भने, ‘केही पूरा भएका छन्, केही अधुरै छन्, तिनीहरूलाई पूरा गर्छु।’
चुरेदेखि दक्षिणी निकुञ्जसम्म जोडिएको आफ्नो निर्वाचन क्षेत्रको एकीकृत दिगो विकासका लागि नदी नियन्त्रणदेखि, कृषि, उद्योगको विकासमा काम गर्ने बताए। दैजिछेला औद्योगिक क्षेत्रको थप विकासका लागिसमेत पहल गर्ने बताए। युवाहरूका लागि रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने, आरक्षपीडितको समस्या समाधान गर्ने, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनेजस्ता एजेन्डा अघि सारेका छन्।
दोस्रोपटक प्रदेश सभा सदस्यको दौडमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार लालबहादुर खड्काले अघिल्लोपटक चुनाव जितेपछि सामाजिक विकासमन्त्री भएका वेला सञ्चालन गरेका अधुरा योजना पूरा गर्ने बताए। ‘मैले मन्त्री हुँदा थुप्रै योजना ल्याएको छु,' ‘उनले भने, ‘ती सञ्चालनमा छन्, अब चुनाव जितेपछि पूरा गर्छु।’
सडक सञ्जाल स्तरोन्नति, आरक्षपीडितको पुनर्स्थापना, कृषि औद्योगिक विकास, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको विकास गर्नेलगायत एजेन्डा खड्काले अघि सारेका छन्। ‘स्थानीय, प्रदेश र संघीय सरकार मिलेर क्षेत्रको समृद्धि गर्ने मेरो चाहना छ, ‘उनले भने, ‘जनतासँग एजेन्डा लिएर गएको छु, जनताले के गर्छन्, जनताकै हातमा छ।’