रामचन्द्रले भने- देशमा राजनीतिक क्रान्ति सफल भइसक्यो

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ– १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।  

तनहुँको देवघाट गाउँपालिका– ४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताएका हुन्। 

‘जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ,’ वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने, ‘देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेन्डा विकास हो।’

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो। उनले भने, ‘देशलाई सुशासन दिएर विकास गरेर युवालाई बिदेसिन नपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ।’ 

वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ- १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए। वरिष्ठ नेता पौडेल शुक्रबारदेखि घरदैलो अभियानमा व्यस्त छन्। 

सुझावित समाचार