प्रचण्डका प्रत्याशी पोखरेलले मनाए १००औँ जन्मदिन

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

गोरखा २ मा नेपाली कांग्रेस (बिपी)बाट प्रतिनिधिसभाका उम्मेदवार टीकादत्त पोखरेलले सय वर्ष प्रवेश गरेको उपलक्ष्यमा जन्मशताब्दी मनाएका छन्। वि.सं. १९८० कात्तिक १४ गते जन्मिएका पोखरेलले सोमबार सिरानचोक गाउँपालिका– ४ छोप्राकको माझगाउँबेँसीस्थित पुर्ख्यौली घरमा केक काटेर जन्मशताब्दी मनाएका हुन्।

छोराछोरी, नातिनातिना, पनातिपनातिनालगायत छिमेकीहरू सबैलाई टीका लगाइदिएर उनले जन्मदिन मनाए। सय वर्ष प्रवेश गरेका पोखरेलले माओवादी अध्यक्ष ६८ वर्षीय पुष्पकमल दाहाल प्रचण्ड, एमालेका २८ वर्षीय अब्दुस मियाँसहित १२ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्।

जन्मोत्सव मनाउँदै उनले अहिलेका नेताहरूको विश्वास नभएर नै आफूले उम्मेदवारी दिएको बताए। ‘अहिलेका नेताहरूको केही विश्वास लाग्दैन। देशका लागि यिनीहरूले केही गर्दैनन्। यिनीहरू पैसा कमाउन आएका हुन्,’ पोखरेलले भने।

पछिल्लो समय देश विकास भए पनि जनताको घरदैलोसम्म नपुगेको भन्दै उनले सरकारले स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताए। सबैले चिनेकाले यहाँका मतदाताले आफूलाई भोट दिनेमा विश्वस्त रहेको उनको भनाइ छ।

पोखरेल ००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनामा संलग्न थिए । ००४ सालमा सेनाको जागिर छाडेर मुक्ति सेनामा संलग्न भएका उनले तीन वर्ष त्यसमा रहेर काम गरेका थिए। जहानियाँ राणाशासन हटेपछि स्वदेश फर्किएर उनले गोरखाको छोप्राकमा मण्डली मावि स्थापना गरेका थिए। पञ्चायतकालमा विभिन्न आन्दोलनमा संलग्न भएबापत ६ वर्ष जेलजीवन बिताएका उनी ०२४–२५ मा छोप्राक गाउँ पञ्चायतको उपाध्यक्षमा निर्विरोध भएका थिए।

सुझावित समाचार