थारू लोक संस्कृति प्रवर्द्धनका लागि लहानमा महोत्सव गरिँदै

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

लहान/ नजिकिँदै गरेको दसैँतिहारको सन्दर्भ पारेर थारू मौलिक लोक संस्कृति परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण र प्रवर्द्धनका लागि सिराहाको लहानमा १५ दिने थारू सांस्कृतिक दसैँतिहार महोत्सव गरिने भएको छ।

थारू कल्याणकारिणी सभा सिराहाले लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा दसैँको घटस्थापना २५ असोजदेखि आगामी ८ कात्तिकसम्म १५ दिने महोत्सव आयोजना गर्न लागेको हो। सभाले सोमबार बिहान पत्रकार सम्मेलनमार्फत थारू समुदायको लोकसंस्कृति, भेषभूषा, भाषा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक सद्भाव अभिबृद्धिका लागि महोत्सव गर्न लागिएको जनाएको छ।

महोत्सवमा विविध सांस्कृतिक पहिचान झल्किने सांस्कृतिक नृत्य, लोपोन्मुख परम्परागत थारू लोक नृत्य धुमरा, सामा–चकेवा, सखिया प्रदर्शन, पहलमानी (कुस्ती) जलपरी, झुला तथा बाल उद्यान प्रस्तुत मनोरञ्जनात्मक खेलहरु देखाइने सभाका प्रवक्ता अजयकुमार चौधरीले जानकारी दिए।

चौधरीका अनुसार नयाँ पुस्तालाई मौलिक भाषा, भेषभूषा, खानपान (बगिया,  घोंघी, सितुवा, कोकरा, तेलपुरी, भक्का सिद्रालगायतका थारू परिकारको बारेमा जानकारी दिन फुड स्टल सञ्चालनसहित स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।

सुझावित समाचार