रुपन्देही २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सत्ता पक्षधर गठबन्धनको समर्थन भएसँगै रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाणलाई निर्वाचन जित्न सहज हुने देखिएको छ ।
गत ३० वैशाख सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत हेर्दा रुपन्देही ३ मा सत्तागठबन्धनभन्दा एमाले नेतृत्वको गठबन्धन आठ हजार चार सय ६१ मतले अगाडि छ । समर्थनपछि गबठन्धनले जनमुक्तिसँग रहेको दुई हजार सात सय ६ मत प्राप्त गर्नेछ । नपुग भएको बाँकी मत भने उसले एमाले छाडेका घनश्याम भुसालसमर्थित कार्यकर्ताबाट प्राप्त गर्नेछ । निर्वाचन क्षेत्रमा भुसालबाट प्रभावित हुने करिब चार हजार दुई सय मत छन् । जसले गृहमन्त्रीसमेत रहेका खाणलाई चुनाव जित्न सहज बनाउनेछ ।
रुपन्देही ३ का क्षेत्रीय सभापति सुशील गुरुङले स्थानीय तहमा प्राप्त मतले सत्तागठबन्धनलाई कुनै असर नपार्ने बताए । उनले भने, ‘स्थानीय तहमा प्राप्त मत हेर्दा विपक्षीसँग केही धेरैजस्तो देखिन्छ । तर, यसले हामीलाई कुनै फरक पर्दैन । निर्वाचन जित्ने आधार हामीले तयार गरेका छौँ ।’
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार कांग्रेसले रुपन्देही ३ मा ३४ हजार एक सय ५३ मत पाएको थियो भने एमालेले २९ हजार ४८ मत प्राप्त गरेको थियो । त्यस्तै, राप्रपाले १३ हजार तीन सय ९७, जसपाले ६ हजार एक सय ८३, माओवादीले दुई हजार आठ सय ८१, लोसपाले दुई हजार एक सय ७४ र नेकपा एसले नौ सय ७७ मत प्राप्त गरेको थियो । अहिले सत्तागठबन्धनमा कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादी छन् । एमालेसँग राप्रपा र जसपा छन् । यसलाई आधार मान्दा सत्तागठबन्धनसँग ४० हजार एक सय ८५ मत छ । एमालेसँग ४८ हजार ६ सय २८ मत छ । यस आधारमा एमाले सत्तागठबन्धनभन्दा आठ हजार चार सय ४३ मतले अगाडि देखिन्छ ।
रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएसँगै सत्तागठबन्धनले जनमुक्तिका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । गुरुङ सत्तागठबन्धन पक्षका उम्मेदवार थिए । सोही क्षेत्रबाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल चुनावी मैदानमा छन् । तर, एमाले रुपन्देही ३ का क्षेत्रीय इन्चार्ज नरबहादुर घर्तीले एमालेका कार्यकर्ता इमान र बेइमान बुझेका भएको हुँदा मत दायाँबायाँ नहुने दाबी गर्छन् ।
उनी भन्छन्, ‘एमालेका कार्यकर्ता इमानदार छन् । बेइमानी के हो बुझेका छन् । हामीसँग रहेका दलबाट पनि धोका हुँदैन । त्यसो हुँदा हाम्रो मत गठबन्धनभन्दा बाहिर जाँदैन । यसो भए राष्ट्रिय राजनीति नै फरक पर्ने तथ्य एमालेका कार्यकर्ता प्रस्टसँग बुझेका छन् ।’
रुपन्देही ३ मा खाणसँग राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहरा चुनावी प्रतिस्पर्धामा छन् । उनलाई एमाले गबठन्धनको समर्थन छ । ०७४ को निर्वाचनमा दीपक घनश्यामसँग चुनाव हारेका थिए । घनश्याम अहिले रुपन्देही १ बाट चुनावमा उठेका छन् । वाम गठबन्धनका उम्मेदवार भुसालले त्यसवेला ३२ हजार आठ सय आठ सय ६६ मत ल्याएका थिए भने कांग्रेसको समर्थनमा बोहराले २७ हजार चार २२ मत ल्याएका थिए । माओवादीको चुनाव चिह्नमा निर्वाचनमा उत्रिएका भुसाललाई अहिले सत्तागठबन्धनको समर्थन छ ।
रुपन्देही ३(क)मा लोसपाका सन्तोश पाण्डेय र (ख)मा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल चुनावी मैदानमा छन् । त्यसैगरी प्रतिपक्षी दल एमालेतर्फबाट (क)मा जसपाका महेन्द्र यादव चुनावी मैदानमा छन् भने (ख)मा एमालेका तुल्सी चौधरी छन् ।
सत्तागठबन्धनको समर्थनपछि जनमुक्तिले रुपन्देही (क) बाट उम्मदेवारी दिएका उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारिसकेको छ । जनमुक्ति पार्टीले ०७४ को निर्वाचनमा जिल्लाको ५ निर्वाचन क्षेत्रबाट ११ हजार आठ सय ५३ मत ल्याएको थियो । रुपन्देही १ बाट तीन हजार चार सय ७७, २ बाट तीन हजार नौ सय ५५, ३ बाट दुई हजार सात सय ६, ४ बाट एक सय ६० र ५ बाट एक हजार पाँच सय ५५ मत प्राप्त गरेको थियो ।
यसकारण सहज बन्दै छ सत्तागठबन्धनलाई
रुपन्देही ३ को प्रतिनिधिसभा र प्रदेश (क)मा एमालेका उम्मेदवार छैनन् । प्रदेश (ख)मा एमालेले तुल्सी चौधरीलाई उठाएको छ । सत्तागठबन्धनले एमालेको उमेदवार नभएको प्रदेश (क)स्थित एमालेका मतदातालाई आफ्नो पक्षमा पार्न लबिङ गरिरहेको छ । विशेष गरी एमालेबाट बाहिरिएका घनश्याम भुसालनिकट कार्यकर्ता फकाउने रणनीतिमा गठबन्धन लागेको छ ।
भुसालनिकट स्राेतका अनुसार रुपन्देही ३ बाट सत्तागठबन्धनमा एमालेको चार हजारभन्दा बढी मत क्रस हुने दाबी छ । यही मत कांग्रेसका लागि जित हासिल गर्ने मुख्य आधार हो । पछिल्ला दिन जनमुक्ति पनि समावेश भएपछि चुनाव जित्न सत्तागठबन्धनका लागि सहज बनेको देखिन्छ ।
कांग्रेसका असन्तुष्ट पक्षसँग खेलेर मत तान्ने एमाले दाउ
कांग्रेसभित्र आन्तरिक द्वन्द्व छ । कांग्रेस महाधिवेशनमा यो छताछुल्ल भएको थियो । वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म असन्तुष्ट समूहलाई कुटपिट गर्नेदेखि नेतृत्वमा पुग्नबाटै रोक्नेसम्मको खेल रुपन्देही कांग्रेसमा भएको थियो । कांग्रेसका यही असन्तुष्ट पक्षसँग खेलर मत आफूतिर तन्ने रणनीति एमालेको देखिन्छ ।
चुनावी प्रचारमा विष्णु पौडेलको ‘इन्ट्री’ ?
रुपन्देही २ मा गठबन्धनका उम्मेदवार गुरुङको उमेदवारी खारेज भएसँगै एमालेका उमेदवार विष्णु पौडेलका निम्ति जित निकाल्न सहज बनेको देखिन्छ । यससँगै चुनावी प्रचारप्रसार गर्न अन्य क्षेत्रमा पुग्न उनका निम्ति सजिलो भएको छ । जिल्लाको विकासमा पौडेलको योगदानलाई सबैले स्वीकार गरेका छन् । निर्वाचनका क्रममा पौडेलको निर्वाचन प्रचार यात्रा रुपन्देही १, ३ र ५ सम्म पुग्ने अवस्था आयो भने सत्तागठबन्धनलाई अलि मिहिनेत गर्नुपर्ने देखिन्छ ।
खाणका निम्ति अर्को चुनौती
रुपन्देही ३ बाटै उम्मदेवार बनेका छन्, कांग्रेस पृष्ठभूमिका सामाजिक अभियन्ता प्रख्यात बन्जाडे । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका उनको कांग्रेस कार्यकर्तासँग राम्रो घुलमिल छ । उनी निर्वाचन क्षेत्रमा चिनिएका उम्मेदवार पनि हुन् । यो गठबन्धनका उम्मेदवार खाणका निम्ति चुनौती बन्न सक्छ । किनकि उनले काट्ने भनेको कांग्रेसकै मत हो ।
रुपन्देहीमा ७० प्रतिशत मत खस्ने आकलन
निर्वाचन आयोगका अनुसार ३ (क) ६५ हजार पाँच १३ र ३ (ख) मा ६७ हजार दुई सय ७८ गरी जम्मा एक लाख ३२ हजार सात ९१ मतदाता रहेका छन । ०७४ को तुलनामा २३ हजार मतदाता थपिएका छन् ।
०७४ को निर्वाचनमा एक लाख नौ हजार दुई सय ७८ मत दाता रहेकोमा ८३ हजार आठ सय ९७ मत खसेको थियो । सात हजार १० मत बदर भएका थिए । समानुपातिक मत एमालेले २६ हजार चार सय ७१ , कांग्रेसले २१ हजार तीन सय २४, संघीय समाजवादी फोरमले ११ हजार आठ सय १७, माओवादीले तीन हजार नौ सय ५३ र राप्रपाले हजार एक सय १० मत प्राप्त गरेको थियो ।
बोहराको पृष्ठभूमि
एमाले नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवार बोहरा जिल्लाको विकासका हिसाबले राम्रो मानिन्छन् । रुपन्देहीको विकासमा भैलोभुज परियोजनालाई प्रमुख मानिन्छ । यो योजना जिल्लामा ल्याउने नेताका रूपमा बोहरालाई चिनिन्छ । भैलोभुज योजना सुरु भएसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा पूर्वाधारका हिसाबले सिँचाइ, सडक र विद्युतीकरण एकसाथ भएको देखिन्छ ।
त्यसैगरी, कोभिडको पहिलो चरणमा लुम्बिनी प्रदेशका लागि करिब १५ करोड रुपैयाँ मूल्यबराबरको मेडिकल सामान वितरण उनैले गरेका थिए । प्रतिमा निमा मेमोरियल फाउन्डेसनमार्फत उनले चाइल्ड भेन्टिलेटर, इमर्जेन्सी बेड, अक्सिजिन सिलिन्डर, अक्सिजन कन्सलटेटर, पिपिई, मास्क, स्यानिटाइजरलगायतका सामान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रदेशका १२ वटै सरकारी अस्पताललाई हस्तान्तरण गरेका थिए । निमा प्रतिष्ठान कार्यालय परिसरलाई कोरोना कालमा करिब नौ महिना ‘क्वारेन्टिन’ राख्न सहयोग गरेका थिए । कोरोनाकै समयमा देशभरका चिकित्सकलाई अनलाइनमार्फत बिरामी उपचार र पोस्ट कोभिडपछिको अवस्थाका विषयमा अनलाइन तालिम प्रदान गर्न सघाएका थिए ।