एमसिसी वुमन क्रिकेट टोलीको नेपाल टुर, क्यान ११ को दोस्रो जित

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

क्यान ११ महिला टोलीले नेपाल टुरमा आएको एमसिसी वुमन क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ। पोखरा रंगशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गरेको हो। 

यसअघि पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समेत क्यान ११ ले २१ रनले एमसिसीलाई पराजित गरेको थियो। शनिबार भएको दोस्रो दिनको खेलमा क्यान ११ ले २ विकेटले एमसिसीलाई पराजित गरेको हो।  

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ४० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। ११४ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको  क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

एमसिसीका लागि जेनी हिटजिङजरले ५६ बलमा २ चौकासहित टोलीका लागि सर्वाधिक २१ रन जोडेको थिइन्। टोलीका लागि क्लेरी टेलरले २०, अमन्डा पटजिटरले १६, एलिसा हबर्डले १३ र अवी ह्वाईग्रोभले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यसैगरी, क्यान ११ का लागि खेलकी प्लेयर अफ द म्याचसमेत रहेकी नेरी थापाले सर्वाधिक ३३ रन जोडिन्। ४८ बलको सामना गरेकी थापाले ३ चौकासहित अविजित ३३ रन जोड्न सफल भएकी थिइन्। टोलीका लागि अश्मिना कर्माचार्यले अविजित १८, कविता कुँवरले १६ र रुबिना क्षेत्रीले १३ रन जोड्दा टोलीका अन्य खेलाडी दोहोरो अंकको योगफल तयार गर्न असफल रहे।
 

सुझावित समाचार