सर्लाहीको हरिपूर्वामा छोरा मारेको आरोपमा भाइको परिवारमाथि आक्रमण भएको छ। शुक्रबार साँझ हरिपुर्वा नगरपालिका–५, निवासी भरत रायको परिवारले भाई गणेशी रायको परिवारमाथि आक्रमण गरेको हो । ६/७ महिना अघि भरत रायका छोरा झुण्डीएको अवस्थामा फेला परेका थिए । सोहि घटनालाई लिएर अहिले दुइ दाजुभाईबीच झगडा भएको हो ।
छोरा मनोज रायको हत्या गरेको आरोप लगाउँदै दाजु भरत रायका परिवारले भाइ गणेशी रायको परिवार माथि आक्रमण गरको हो । दुइ दाजुभाईबीचको झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गर्नुपरेको छ।
स्थानीय समेत घटनामा सहभागी भएपछि स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको सर्लाही प्रहरीले जनाएको छ । घटना पछि भरत रायले भाई गणेशी विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । त्यस पछि गणेशी फरार भएको स्थानीयको भनाई छ ।
छठ पर्व मनाउन घर आएकाे समयमा उनीहरुबीच शुक्रवार साँझ झगडा भएको हाे । लगत्तै जम्मा भएका भरत पक्षका स्थानीयले गणेशीको घर घेराहालेका थिए । झगडाले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेर घटनास्थल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविण पोखरेले जानकारी दिए । एसपी पोखरेलका अुनसार अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आएको छ । अवस्था सामान्य बन्दै गएको छ ।
यसरी भएको थियो घटना
भरत राय र गणेशी राय सहोदर दाजुभाई हुन् । ६/७ महिना पहिला भरत रायको अन्दाजी ३४/३५ बर्षका छोरा मनोज यादव झुण्डीएको अवस्थामा मृत फेला परेका थिए । मृतकका परिवारले काका गणेशीले नै मनोजको हत्या गरेर झुण्डाएको आरोप लगाउँदै आएका थिए ।
उनीहरुले गणेशी र उनको परिवार बिरुद्ध किटानी जाहेरी समेत दिए थिए । त्यसपछि गणेशी राय र उनको श्रीमती फरार भएका स्थानियको भनाई छ । छठ पर्व मनाउन गणेशीको परिवार घर आएको अवस्थामा सोही विषयलाई लिएर शुक्रवार साँझ दाजुभाईका परिवारबीच झगडा भएको हो ।
भरत रायको श्रीमती फुलो देवीले आफ्नो छोरा मारेको आरोप लगाउँदै देवर गणेशीका परिवारलाई गाली गलौज गरेको स्थानीयको भनाई छ । त्यसपछि गणेशीको परिवारले फुलो देवी माथि कुटपिट गरेको भरत राय परिवारको आरोप छ ।
लगत्तै भरत रायको परिवारले गणेशी रायको छोरा १८/२० बर्षका राहुल राय माथि निर्घात कुटपिट गरेका थिए । लगत्तै घटनास्थलमा उपस्थित भएका स्थानीयले समेत गणेशी रायको घर घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेको प्रहरीले गणेशी रायको परिवारको उद्धार गर्नखोज्दा स्थानीयले प्रहरी माथि नै ढुंगामुढा गरेको जिल्ला पहरीका एसपी पोखरेलले जानकारी दिए ।
त्यसपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरी गणेशी रायको परिवारको उद्धार गरेको थियो । हवाई फायर पछि भीड तिरतबितर भएको र स्थिती नियन्त्रणमा आएको प्रहरीले जनाएको हो । घटनामा सामान्य घाईते भएका फुलो देवी र राहुल रायको प्रादेशीक अस्पताल मलंगवा र लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको छ ।