प्रधानमन्त्री कप क्रिकेटका लागि मधेश प्रदेशको टोली घोषणा

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने मधेश प्रदेश टिमका खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो। 

टोलीको नेतृत्व अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हरिशंकर साहलाई दिइएको छ। टोलीमा विवेक यादव, सन्तोष कार्की, अनिलकुमार साह (विकेटकिपर), रतन रौनक, डब्लु मलिक, इमरान शेख, रोहन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मो. आदिल आलम, विशाल सुसिङ र प्रदीप पासमान रहेका छन्।

यस्तै, वैकल्पिक खेलाडीमा राकेश कामैत, अभिशेख तिवारी, अजय यादव र समसाद अन्सारी छन्। टोलीमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइएका खेलाडीहरू हरिशंकर, विवेक, सन्तोष, अनिल, रोहन, मो. आदिलसमेत परेका छन्। टिम प्रशिक्षकमा सुनील साह, म्यानेजरमा अनवर अली र मेन्टरमा मेहबुब आलम छन्।

मधेश प्रदेश क्रिकेट संघले सप्तरीको राजविराजस्थित टियू र पबी खेल मैदानमा गत कात्तिक १ देखि ६ गतेसम्म आयोजना गरेको प्रदेशस्तरीय छनोट प्रतियोगितामा आठ जिल्लाका खेलाडीहरू सहभागी भएका थिए। उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडीहरू छनोट गरिएको संघले जनाएको छ।

सुझावित समाचार