टी–२० विश्वकपमा आयरल्यान्डसँग इंग्ल्यान्डको हार

बुधबार, ९ कार्तिक, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को पहिलो खेलमा आयरल्यान्डले अप्रत्याशित नतिजा निकालेको छ । बुधबार आयरल्यान्डले इंग्ल्यान्डलाई पाँच रनले हराउँदै अप्रत्याशित नतिजा निकालेको हो । 

वर्षाले प्रभावित भएको खेलमा आयरल्यान्डले इंग्ल्यान्डलाई डकवर्थ लुइस पद्धतिको आधारमा पाँच रनले पराजित गर्याे । मेलवर्न क्रिकेट ग्राउन्डमा आयरल्यान्डले दिएको एक सय ५८ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो । 

वर्षाले खेल रोकिनुअघि इंग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । इंग्ल्यान्डका लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी १८ रनमा आउट भए । 

आयरल्यान्डका जोस लिटलले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९ ओभर दुई बलमा अलआउट हुँदै १५७ रन जोडेको थियो ।


आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले ६२ रनको अर्धशतकीय इनिङ खेले । इंग्ल्यान्डका आदिल राशिद र मार्क उडले तीन–तीन विकेट लिए । जितसँगै आयरल्यान्डले दुई खेलमा दुई अंक जोडेको छ ।

इंग्ल्यान्डले दुई खेलबाट दुई अंक जोडेको छ । बुधबार नै भएकाेअस्ट्रेलिया र अफगानिस्ताबीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवैले एक–एक अंक बाँडेका छन् ।

सुझावित समाचार