आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्।
सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छजनाले उम्मेदवारी दिएका छन्।
कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, एमालेका युवा नेता किरण पौडेल, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमलगायतका नेता यही चुनावी क्षेत्रमा प्रतिस्पर्धामा छन्।
प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौं क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कुल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए।
कुल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेश सभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेश सभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन्। तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता छन्।
सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका चारवटा वडा समेटिएका छन्। यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेश सभा ‘क’तर्फ काठमाडौं महानगरका १०, ११ र २९ वडा तथा प्रदेश सभा ‘ख’मा काठमाडौं महानगरको ३१ वडा समेटिएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ।