थुप्रै अमेरिकी बहुमतको शासनमा केही न केही समस्या छ भन्ने ठान्छन् । अर्थात् यस्तो शासनमा केही न केही भयावह वा जोखिमयुक्त अवस्था हुन सक्छ भनेर चिन्तित हुन्छन् । अभिभावक बैठकमा वा धार्मिक कार्यक्रमका लागि विषयवस्तु छनोट गर्दा बहुमत स्विकार्नुलाई ठीक ठानिन्छ तर, राजनीतिक निर्णयमा आउँदा बहुमतको निर्णयले हामीलाई असहज गराउँछ । त्यसबाहेक हाम्रो राजनीतिक शब्दकोशमा धेरै शब्द र भनाइ छन् जसले बहुसंख्यकवाद प्रणालीको खतरालाई देखाउँछ वा विचारलाई पूर्ण रूपमा अस्वीकार गर्छ ।
‘बहुसंख्यकवादको अत्याचार’विरुद्ध बेन्जामिन फ््रयांकलिनले नभनेको, तर उनलाई श्रेय दिइने ‘लोकतन्त्र भनेको के खाने भनेर ब्वाँसो र भेडाबीचको मतदान हो’ भन्ने भनाइ राखिन्छ । अर्को बारम्बार सुनिएको भनाइ अमेरिका ‘लोकतन्त्र नभई गणतन्त्र हो’ र यो अमेरिकी लोकतन्त्रले हाम्रो स्वतन्त्रता खोस्नेछ । यो भनाइ मलाई चित्त बुझ्दैन । हामीलाई हाम्रा आफ्नै नागरिकको विद्रुप दयामा बाँचिरहेका छौँ भनेर सिकाइन्छ ।
बहुमतको शासनप्रति हाम्रो व्यापक अविश्वास बहुमत पनि तानाशाहजत्तिकै निरंकुश हुन सक्छ भन्ने हाम्रो देखाइभोगाइबाट उत्पन्न हुनेगर्छ । यस सन्दर्भमा ‘जब म कुनै पनि शक्तिलाई दिइएको अधिकार र क्षमता देख्छु, चाहे त्यो जनता वा राजा होस्, लोकतन्त्र वा कुलीनतन्त्र होस्, राजतन्त्र वा गणतन्त्र होस्, म त्यहाँ अत्याचारको बिउ देख्छु र म अन्य व्यवस्थामा बाँच्न खोज्छु’ भन्ने एलेक्सिस डी टोकोभिलको भनाइ सान्दर्भिक हुन्छ ।
हाम्रो बहुसंख्यकवादविरोधी संविधानले बहुसंख्यक शासनको अत्याचारविरुद्ध जनताको अधिकार र स्वतन्त्रता संरक्षण गरेको छ र कुनै पनि ठूलो बहुसंख्यकवादले स्वतन्त्रतालाई जोखिममा पार्छ भन्ने विषयलाई सहजै स्वीकार गरिन्छ । तर, मामला यसो होइन भने के हुन्छ ? हो, हाम्रा लोकतान्त्रिक संस्था बहुसंख्यकले चलाइरहँदा दमन भएका छन् र सर्वोच्च अदालतले जोखिममा परेका अल्पसंख्यक र आमजनताको अधिकार रक्षाविरुद्ध कदम चालेको छ । यद्यपि, विपरीत उदाहरण पनि छन् अर्थात् बहुसंख्यकले कमजोर अल्पसंख्यकको अधिकार रक्षा पनि गरेका छन् ।
मैले विगतमा कसरी अदालतले संविधानको संशोधन र अश्वेत अमेरिकीलाई पूर्वाग्रह, हिंसा र शोषणबाट स्वतन्त्रता प्रत्याभूत गर्ने कानुन निर्माणमा हस्तक्षेप गरेको छ भन्नेबारे लेखेको छु । सन् १८७५ को नागरिक अधिकार ऐनले सार्वजनिक स्थानमा नश्लीय भेदभावलाई गैरकानुनी बनाउँथ्यो र नश्लका आधारमा हुने न्यायिक बहिष्कारमा प्रतिबन्ध लगाएको थियो । यो ऐनलाई तेस्रो अमेरिकी कंग्रेसका अश्वेत सदस्यले अश्वेत समुदायलाई समावेश गर्न पारित गरेको थियो र यी अश्वेत सदस्य मुलुककै सबैभन्दा बढी नश्लीय विभेद हुने दक्षिणबाट चुनिएका थिए । तर, १८८३ मा अदालतले १३औँ र १४औँ संशोधनले कंग्रेसलाई जातीय भेदभाव निषेध गर्ने अधिकार दिएन ।
त्यसैगरी, जिम क्रो (कानुन)को सुरुवातमा अश्वेत बस्तीले मतदान गर्ने ठाउँमा बहुसंख्यक श्वेत मतदाता प्रवेश गराउनु थिएन वास्तवमा यो कानुन अश्वेत मतदातालाई दबाउन र श्वेत सहयोगीलाई विचलित पार्न ल्याइएको थियो । उदाहरण, मिसिसिपीमा जिम क्रो लागू गर्न मद्दत गर्ने पुरुष कुनै पनि हिसाबले बहुमतमा थिएनन् र जनसंख्याको ठूलो हिस्सा अश्वेत भएको राज्यमा यी श्वेतले कसैको प्रतिनिधित्व गर्दैनथे । ‘द स्ट्रेन्ज करिअर अफ जिम क्रो’मा इतिहासकार सी भान वुडवर्डका अनुसार ‘मतदानबाट वञ्चित गर्ने आन्दोलनले अन्तिम सफलता हासिल गरे पनि यसले भयंकर प्रतिरोधको सामना गर्नुपरेको थियो र यो प्रतिरोधलाई कतिपय राज्यमा झिनो अन्तर वा धोखाधडीको प्रयोग गरेर परास्त गर्न सफल भएको थियो’ ।
अमेरिकाका दक्षिणी हिस्साका मतदाताको अधिकार संरक्षणका पक्षमा बहुमत थियो । तर, सिनेटको ढिलासुस्तीले सन् १८९० को संघीय चुनाव विधेयक पारित हुनबाट रोकियो जसले संघीय सरकारलाई पूर्वकन्फेडेरेट राज्य (अमेरिकाका दक्षिणी भागका राज्य)मा चुनावको निरीक्षण गर्ने अधिकार दियो ।
बहुसंख्यक शासनको विरोध गर्ने हाम्रा संस्थाको अनुपस्थितिमा अमेरिकी इतिहासले कुन बाटो लिन्थ्यो भनेर आकलन गर्न गाह्रो छ । तर, यदि बहुसंख्यकले अश्वेत अमेरिकीको अधिकार रक्षा गर्न निर्बाध रूपमा काम गर्न पाएको भएको भए हाम्रा अनुभव कम पीडादायी हुन्थे । यसलाई हामी वर्तमानमा पनि अनुभव गर्न सक्छौँ । शारीरिक स्वायत्तताको अधिकार, मतदानको अधिकार र नागरिक समाजमा ट्रान्सजेन्डर अमेरिकीको अस्तित्वको अधिकारलाई बहुमत अमेरिकीबाट कुनै विरोध छैन । प्यू रिसर्च सेन्टरका अनुसार ६४ प्रतिशत अमेरिकीले ट्रान्सजेन्डरलाई रोजगारी, आवास र सार्वजनिक स्थानमा हुने भेदभावबाट जोगाउने कानुन वा नीतिलाई समर्थन गर्छन् ।
बहुसंख्यक अमेरिकीको हातमा निर्णय भएको भए मतदान अधिकार ऐनलाई परिवर्तन गरिसकेका हुन्थे, गर्भपतन अधिकारलाई कानुनमा संहिताबद्ध गरिसकेका हुन्थे र यौनिक एवं लैंगिक अल्पसंख्यकलाई सुरक्षाको प्रत्याभूति गराइसक्थे । वास्तवमा अमेरिकीको नागरिक अधिकार अमेरिकी बहुसंख्यकमा निर्भर छ । विधायिकाको सफलता, जसलाई बहुसंख्यक अमेरिकीले सम्मान गर्ने सन् १९६४ को नागरिक अधिकार ऐन राष्ट्रपतिको हत्या हुँदाका वेला पनि बहुसंख्यक जनप्रतिनिधिले पारित गरेका हुन् ।
यदि राष्ट्रिय बहुमत सम्भव हुन्थ्यो भने अमेरिकी लोकतन्त्र सम्भवतः बलियो हुने थियो वा कम से कम डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुँदैनथे । यद्यपि, हाम्रो राजनीतिक प्रणालीले लोकतन्त्रलाई त्यति सुरक्षित गर्न सकेन जति यसलाई पतन गर्ने र कमजोर पार्नेको प्रयासलाई सहज बनाएको छ । अब्राहम लिंकनले एकपटक भनेझैँ बहुमतको शासन ‘स्वतन्त्र जनताको एक मात्र वास्तविक सार्वभौमसत्ता’ मात्र नभई यो एक मात्र सार्वभौमसत्ता पनि हो जसले जनतालाई पदानुक्रम र शोषणको कठिनाइबाट जोगाउन निरन्तर प्रयास गरेको छ ।
(बोई न्युयोर्क टाइम्सका स्तम्भकार हुन्) न्युयोर्क टाइम्सबाट