फ्रेन्च खेलाडी रिबेरीले सन्न्यास लिए

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

सन् २००६ को विश्वकप उपविजेता खेलाडी फ्र्याँक रिबेरीले शनिबार फुटबल करिअरबाट सन्न्यास घोषणा गरे 

फ्रान्स तथा बायर्न म्युनिखका पूर्व विंगर फ्र्याँक रिबेरीले शनिबार समग्र फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । लामो समयदेखि घुँडाको समस्याबाट मुक्त हुन नसक्दा ३९ वर्षका रिबेरीले सन्न्यास घोषणा गरेका हुन् । उनले सिरी ए क्लब सोलेर्निटानासँग आफ्नो सम्झौतालाई समाप्त गर्दै सन्न्यासको घोषणा गरेको बताएका छन् । सोसल मिडियामा रिबेरीले मैदानमा बल रोकिएको बताएका छन् । ‘मैदानमा मैले खेल्ने बल रोकिएको छ, यहाँसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ उनले भनेका छन् ।

फुटबल करिअरमा उनले १२ वर्ष बुन्डेस लिग च्याम्पियन बायर्नबाट प्रतिस्पर्धा गरेका थिए । बायर्नका की–प्लेयरसमेत रहेका रिबेरीले चार सय २५ खेलमा एक सय २४ गोल गरेका थिए ।  बायर्नमा उनले एक सय ८२ गोलको अवसर सिर्जना गरेका थिए । रिबेरी सन् २००७ देखि २०१९ सम्म बायर्नमै रहेका थिए । उनले बायर्नबाट च्याम्पियन्स लिगसहित नौवटा बुन्डेस लिगा उपाधि चुमे । करिअरमा उनी तीनपटक फ्रेन्च वर्ष खेलाडी भए । फ्रान्सको राष्ट्रिय टोलीबाट उनले ८१ अन्तर्राष्ट्रिय खेलमा १६ गोल गरेका छन् । 

यसैगरी, उनले २५ पल्ट गोलका लागि पास उपलब्ध गराए । सन् २०१४ मा चोटका कारण फ्रान्सेली टोलीमा नपरेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । सन् २००७ मा मार्सेलीबाट उनी बायर्न आएका थिए । त्यसवेला बायर्नले उनलाई एक करोड ७० लाख मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । सन् २००६ मा फ्रान्सलाई विश्वकपमा उपविजेता बनाएपछि उनी बायर्नसँग आबद्ध भएका थिए । 

रिबेरीले क्लब फुटबल करिअरमा पाँच सय २३ खेल खेलेका छन् । यस क्रममा उनले एक सय १४ गोल गरेका छन् । सन् २००० मा पहिलो व्यावसायिक क्लब लेभल फुटबलको सुरुवात बाउलोन्गेबाट गरेका रिबेरीले मार्सेलोबाट ६० खेलमा ११ गोल गरेका थिए । सन् २०१३ मा बायर्नले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्दा उनले विशेष भूमिका निर्वाह गरेका थिए । 

See More On

सुझावित समाचार