सत्तागठबन्धनको प्रदेशस्तरीय संयुक्त भेला शनिबार विराटनगर र जनकपुरमा सम्पन्न भएको छ । भेलामा गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताबद्ध भएर भोट हाल्न आग्रह गरे । देउवाले माओवादीको हँसिया–हथौडा चुनाव चिह्न, कलम वा अन्य गठबन्धनका चुनाव चिह्नको प्रचार गरे । ‘मैले हँसिया–हथौडामा भोट हालिसकेँ, तपाईंहरूले हिचकिचाउनुपर्ने कुनै कारण छैन,’ उनले भने ।
माओवादी अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन संग्राम भएको भन्दै भोट नदिए संविधान र गणतन्त्र धरापमा पर्न सक्ने बताए । ‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरुगाडावालाको गठबन्धन हो,’ उनले भने, ‘त्यसकारण ४ मंसिरमा एउटा ठूलो संग्राम हुँदै छ ।’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले लगाएको गुन तिर्न भोट दिनुपर्नेमा जोड दिए । ‘बेठिक मान्छेको हातबाट सत्ता खोस्न हामीले धेरै ठूलो त्याग गरेका छौँ, त्यसको गुन तिर्न पनि हामीलाई भोट हाल्नैपर्छ,’ नेपालले भने, ‘बेठिक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन हामीले जोखिम लिएका हौँ ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तागठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताए । पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीको सहकार्य भएको आशंका गर्दै उनले कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको बताए ।
कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले माओवादीको दुईतिहाइ जनमत भएको रुकुम–रोल्पामा समेत कांग्रेसलाई भोट हाल्न तयार भएको भन्दै प्रदेश १ मा पनि कांग्रेसले माओवादीलाई भोट हाल्नुपर्ने बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नै निर्वाचन क्षेत्रमा भएको गठबन्धनको संयुक्त कार्यक्रममा शीर्ष नेताहरू आउनु आफ्नाका लागि खुसीको कुरा भएको बताए ।
लोकतन्त्र बचाउन गठबन्धनलाई जिताउन आग्रह
शनिबार जनकपुरधाममा आयोजित भेलामा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्बाट पारित गरे पनि राष्ट्रपतिका कारण कानुन बन्न नसकेको बताए । उनले मधेसविरोधी शक्तिलाई पहिचान गरी मतदान गर्न आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्डले यताउति नहेरी गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । अहिले टिकट नपाएकाहरूलाई भविष्यमा धेरै अवसर मिल्ने भन्दै उनले गठबन्धन विजयी बनाउने अभियानमा सहभागी हुन आग्रह गरे ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विरोधी भएको आरोप लगाए । उनले ओलीको पछि नलाग्न मधेसी जनतालाई आग्रह गरे ।
लोसपा नेपालका नेता शरत्सिंह भण्डारीले गत स्थानीय तहको निर्वाचनको नतिजालाई निहुँ बनाएर आगामी चुनावमा तीतामीठा कुरा नकोट्याउन आग्रह गरे । उनले लोकतन्त्र बचाउन गठबन्धनले जित्नुपर्ने जिकिर गरे ।