चर्को ब्याजदरको विरोधमा व्यवसायी आन्दोलित

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

रुपन्देहीका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले अत्यधिक मात्रामा ब्याज वृद्धि गरेको विरोधमा भैरहवामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । अत्यधिक बढी ब्याजदरका कारण व्यवसाय गर्न नसकिने अवस्था आएको भन्दै विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत गभर्नरलाई तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा रहेका क्रियाशील व्यावसायिक संघ–संस्थाहरूको सञ्जालले भैरहवाको बुद्ध चोकबाट विरोध र्यालीसहित नारायणस्थान, प्रहरी टोल, मिलन चोक, बैंक रोड हुँदै देवकोटा चोकमा पुगी राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको थियो । 

त्यसपछि व्यवसायीहरूको ¥याली बैंक रोड, नारायणपथ हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापनपत्रमा तत्काल ब्याजदर घटाएर एक अंकमा झार्नुपर्ने माग गरिएको छ । विगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरूले अत्यधिक चर्को ब्याजदर कायम गर्दा उद्योग–व्यवसायी मारमा परेको सञ्जालका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए ।

 बैंक तथा वित्तीय संस्थाहरूले पुँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने र अर्कोतर्फ ब्याजदर चर्को गराउँदा उद्योग–व्यवसाय धराशायी बन्दै गएको पौडेलको भनाइ थियो । कोभिड प्रभावबाट उद्योग–व्यवसायलाई बचाउन सरल कर्जा प्रवाह र सहुलियत ब्याजदर कायम गरिनुपर्ने भनेर व्यवसायीले बारम्बार माग गरिरहँदा पनि बेवास्ता गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

सुझावित समाचार