पूर्वमुख्यमन्त्री शाहीलाई \'बागी\'काे चुनौती, यस्तो छ अंकगणित

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

सत्तारुढ दलको गठबन्धनबाट कालीकोटबाट प्रतिनीधिसभाका उम्मेदवार रहेका कर्णालीका पूर्वमुख्यमन्न्त्री महेन्द्रबहादुर शाहीलाई आफ्नैको चिन्ता छ। माओवादी केन्द्रबाट उम्मेदवारी दिएका शाहीलाई माओवादी केन्द्रका नै काशीचन्द्र बरालले चुनौती दिइरहेका छन्। 

कालीकोटमा २०६४ सालदेखि नै माओवादी केन्द्र विजय हुँदै आएका छ। माओवादी केन्द्रका २०६४ सालमा खड्कबहादुर विक, २०७० सालमा महेन्द्रबहादुर शाही र २०७४ सालमा दुर्गबहादुर रावत विजयी भएका थिए।

२०७४ सालको निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट विजयी भएका शाही मुख्यमन्त्री बने। शाही अहिले प्रतिनीधिसभाको निर्वाचनमा होमिएका छन्।
 
पूर्वमुख्यमन्त्री शाहीलाई अहिले माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशीचन्द बराल, एमालेबाट नगिन्द्र शाही ‘नेशनल’, कांग्रेस बीपीबाट कालीकोट कांग्रेसका संस्थापक सभापति पंखबहादुर बिष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र रुपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको चुनौती दिइरहेका छन्। 
  
२०४८ सालमा नेपाली कांग्रेसका तिलकप्रसाद न्यौपाने विजयी भएका थिए भने, २०५१ एमालेका प्रेमबहादुर सिंह र २०५६ सालमा एमालेकै यज्ञराज न्यौपाने विजयी भएका थिए। 

त्यसपछि निर्वाचनमा कांग्रेस र एमाले विजयी हुन सकेकाे छैन भने माओवादी केन्द्र पछिल्ला तीन आमनिर्वाचनमा विजय हुँदै आएको छ। अहिलेको निर्वाचनमा माओवादीका लागि आफ्नै पार्टीबाट बागी रहेका बरालले चुनौती दिने आकलन हुन थालेका छ।

पूर्वमुख्यमन्त्री शाहीलाई चुनौती दिइरहेका बराल माओवादी केन्दका केन्द्रीय लेखा समिति सदस्य तथा निवर्तमान रास्कोट नगरप्रमुख हुन्। 

२०५४ मा एमालेबाट फुकोट गाविसको निर्विरोध गाविस अध्यक्ष विजयी भएका थिए। लामो समय माओवादी जनयुद्धकालमा भूमीगत भएका बराल २०७४ को स्थानीय तहको चुनावमा रास्कोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

जिल्लामा सबैभन्दा बढी सदस्य रहेको हिमचुली कृषि सहकारी संंस्थाका संस्थापक समेत हुन्। उनी पूर्वपत्रकार पनि हुन्। 

पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा तानाशाही प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी भएको बरालले बताए। ‘पार्टीले बेवास्ता गरेका, सधैं अवसरबाट वञ्चित भुइँमान्छेको म सच्चा प्रतिनिधि हुँ।’ उनले भने,‘पूर्वाधार विकास, युवा स्वरोजगारलगायतमा काम गरेर देखाइसकेको छु।’ 

यस्तो छ अंकगणित

कालीकोट जिल्लामा नौ वटा स्थानीय तह रहेका छन् । नौ वटा स्थानीय तहका ८२ वटा वडा रहेका छन्। ८२ वडामध्ये माओवादी केन्द्रले ४९ वटा वडामा विजयी भएको छ। अन्यमा अरु दलहरु वडा अध्यक्ष विजयी भएका छन्। 

पालिका प्रमुखहरुले पाएको मतअनुसार गठबन्धनसँग करिब ३२ हजार मत छ। एमालेसँग १५ हजार मत पाएको थियो। एमालेभन्दा सत्तागठबन्धन दोब्बर मतले अघि छ।
नौ स्थानीय तहमध्ये माओवादीले शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिका पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा विजयी भएको छ । सान्त्री त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्रबाट विजयी भएका महेश केसी पनि माओवादी केन्द्रमा नै लागेका छन्। 

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिका नेपाली कांग्रेस विजयी भएको छ। खाँडाचक्र नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको छ। एमालेले केही वडा विजयी भएको छ। 

२०७४ सालको निर्वाचनमा एमालेको समेत साथ पाएपछि माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत र कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत पाए। 

२०७४ मा एमाले र माओवादीले एक÷एक क्षेत्र बाँडेका थिए। ‘क’मा एमालेका कुर्मराज शाहीले ११ हजार ९३५ मत पाए। कांग्रेसका टेकराज शाहीले चार हजार ४८९ मत पाएका थिए। ‘ख’बाट माओवादीका पूर्वमुख्यमन्त्री शाहीले १२ हजार १५३ मत पाउँदा कांग्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत पाएका थिए। 

गठबन्धनको दाबी–विजय हुन्छौं

सत्तारुढ गठबन्धन दलबाट प्रतिनीधिसभामा माओवादी केन्द्रका पूर्वमुख्यमन्त्री शाही, प्रदेशसभामा ‘क’ निवर्तमान प्रतिनीधिसभाका सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवार बनाएको छ।

प्रदेशसभा ‘क’ मा चार जनाको उम्मेदवारी कायम भएको भने प्रदेशसभा ‘ख’बाट ६ जनाले चुनावमा प्रतिस्पर्धा रहेका छन्। ‘क’ मा गठबन्धनबाट रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही छन्। 

प्रदेशसभा ‘ख’गठबन्धनको तर्फबाट कांग्रेसका विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकवहादुर विष्ट, कांग्रेस बीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम उम्मेदवार छन्। स्वतन्त्रबाट पूर्वमाओवादी लक्ष्मणबहादुर बमले उम्मेदवारी दिएका छन्। 

गठबन्धन दल भित्रका बराल, पूर्व माओवादी बम, एकीकृत समाजवादीका बमले चुनौती दिइरहेका बेला माओवादीको संगठन बलियो र गठबन्धन दलको बलमा आफूहरु विजयी हुने माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाई‌ले बताए। 

केन्द्रदेखि नै गठबन्धन भएका कारणले कालीकोट जिल्लामा गठबन्धन दलहरु विजयी हुने बागी उम्मेदवारले केही असर नगर्ने कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले बताए। 
 

सुझावित समाचार